३० जेठ २०८३, शनिबार

विश्वविद्यालयले बाँड्ने ‘मानार्थ’ उपाधिमा लगाम लगाउँदै सांसद

फागुन २१, २०७६
विश्वविद्यालयले बाँड्ने ‘मानार्थ’ उपाधिमा लगाम लगाउँदै सांसद
फाइल फोटो

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकको दफावार छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

उनका अनुसार विधेयकमाथि संशोधन दर्ताको दफावार छलफल सकाइएको हो । ‘दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी रहेका छन्,’ उनले भनिन्, ‘आगामी बैठकमा ती निर्णयलाई टुंग्याइने छ ।’

विधेयकमा २२ सांसदले ७७ बुँदामा संशोधन दर्ता गराएका थिए । समितिमा संशोधन दर्ता गराएका समिति सदस्य तथा सांसदले आ–आफ्नो सुझाव समेत दिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले संशोधनकर्ताले दिएको सुझावका आधारमा विधेयक तयार गर्ने बताए । समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनीय काम गरेको व्यक्तिलाई मात्र मानार्थ उपाधि दिनुपर्ने सुझाव दिइन् । विधेयकमा उल्लेखित सांस्कृतिक तथा समाजसेवीलाई समेत मानार्थ उपाधि दिइने प्रावधान हटाइएको छ । 

समिति सदस्य गगन थापाले विदेशी नागरिकलाई पनि संरक्षक समितिको सदस्य, विश्वविद्यालयको पदाधिकारीमा राख्न सकिने व्यवस्था हुनुपर्ने बताए । विधेयकमा विदेशी नागरिकलाई पनि संरक्षक समितिका सदस्य र पदाधिकारी रहने व्यवस्था गरे पनि केही समिति सदस्यले विदेशी नागरिकलाई नराख्न सुझाव दिएका थिए ।

‘हाम्रा देशका राम्राराम्रा प्राध्यापक विदेशस्थित विश्वविद्यालयमा रहेका छन्,’ थापाले भने, ‘हामीले पनि विश्वविद्यालयको संरक्षक समिति र पदाधिकारीमा बाहिरका प्रतिष्ठित प्राध्यापकलाई राख्नुपर्दछ ।’

सरकारले विज्ञान र प्रविधिको छुट्टै विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक ल्याएको हो । पचासी प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था रहेको विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्