
सभापति शेरबहादुर देउवाले विभाग गठन र केन्द्रीय सदस्य मनोनित गरेपछि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष आक्रामक भएको छ । बुधबार पौडेल पक्षको भेलाले चारवर्षे कार्यकाल सकिन दुई दिन बाँकी छँदा र १४औँ महाधिवेशनको कार्यतालिका आएपछि सभापतिले गरेका निर्णय नमान्ने र सहभागी नहुने निर्णय गरेको छ ।
पौडेल पक्षले नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्य, जिल्ला सभापति र उपसभापतिको भेला गर्दै १४औँ महाधिवेशनको तयारी थालेको सन्देश दिएको हो । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंहले सभापति देउवाले मनोमानी गरेको भन्दै नेतृत्व परिवर्तनमा एकजुट भएर लाग्ने बताएका छन् ।
भेलामा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसीले स्वतन्त्र र निष्पक्ष रूपमा महाधिवेशन गर्नुपर्नेमा कार्यतालिका आइसकेपछि विभाग गठन, केन्द्रीय सदस्यको मनोनयनजस्ता कदमले आचारसंहिताको धज्जी उडाएको निष्कर्ष निकाले । ‘चार वर्षसम्म सभापतिले क्रियाशीलता देखाउनुभएन, तर दुई दिन बाँकी हुँदा विभाग गठन, केन्द्रीय सदस्य मनोनयनको आवश्यकता किन प¥यो ?,’ छलफलमा भएको प्रसंग उद्धृत गर्दै केसीले नयाँ पत्रिकासँग भने, ‘१४औँ महाधिवेशनको कार्यतालिका आइसकेपछि पार्टी विभाग गठन र नयाँ मान्छेलाई केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्नु लोकतान्त्रिक मूल्य पद्धति र आचारसंहिताविपरीत छ । हाम्रा कोही पनि साथीहरू यस्ता संरचनामा बस्नुहुँदैन ।’
आमन्त्रित सदस्यको सीमालाई मिचेर दर्जनौँको संख्यामा नेतालाई जिम्मेवारी दिनु मनपरी रहेको निष्कर्ष पौडेल पक्षको छ । निर्वाचनमा आफ्नो वर्चस्व देखाउन, आफूलाई बलियो बनाउन गरिएको विभाग गठन, आमन्त्रित तथा केन्द्रीय सदस्य मनोनयन गरिएको भेलाको निचोड छ ।
भेलामा सहभागी कांग्रेस काभ्रेका सभापति मधु आचार्यले सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिएको बताए । ‘उपसभापतिहरूलाई प्रतिष्ठानले बोलाएको रहेछ । त्योभन्दा अगाडि नेताहरूले उहाँहरूसँग अन्तक्र्रियाका लागि बोलाएर छलफल गर्नुभएको हो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘जिल्लाबाट आउनुभएका जिल्ला सभापतिहरू, उपसभापतिहरूको समायोजन सकिएको छैन । अझै धेरै काम बाँकी छ । यस्तोमा सहमतिमा अघि बढ्नुपर्ने विषय उठाउनुभएको छ ।’
भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याण गुरुङ, कमला पन्त, सरिता प्रसाईं, हृदयराम थानी, रत्ना शेरचन, बद्रि पाण्डे, धनराज गुरुङलगायत सहभागी थिए । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अन्तक्र्रियाको लागि बोलाए पनि त्यता जानुअघि नै पौडेल पक्षले आफूनिकटका उपसभापतिहरूसँग छलफल गरी १४औँ महाधिवेशन केन्द्रित हुनेगरी तयारी थाल्न निर्देशन दिएको हो ।
जिल्ला प्रशिक्षण शाखाको प्रमुख विधानतः जिल्ला उपसभापति हुने व्यवस्था भएकाले छलफल गर्नका लागि प्रतिष्ठानले बोलाएको हो । केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यका अनुसार विधानमा क्रियाशील सदस्यलाई आधारभूत तालिम दिने व्यवस्था भएकाले देशभरमा १० हजार प्रशिक्षक उत्पादन गरेर उनीहरूमार्फत पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिइनेछ । यसका लागि आधारभूत प्रशिक्षण चलाउन पुस्तिका तयार भएको छ ।
कांग्रेसका कार्यक्रम स्थगित
कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गएपछि कांग्रेसले देशभर पार्टीका कार्यक्रम स्थगित गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै देशभर सभा, जुलुस, भेलासहितका पार्टी कार्यक्रम बुधबारदेखि स्थगित गरिएको बताए । तर, १४औँ महाधिवेशनको तयारीका लागि गरिनुपर्ने आन्तरिक कर्म, स्थानीय तहको समायोजन रोकिने छैनन् । क्रियाशील सदस्यताका नवीकरण र वितरण पनि रोकिँदैन ।’ पार्टी कार्यक्रम स्थगित भए पनि कांग्रेसले कोरोना भाइरसबारे सतकर्ता र सचेतनाको अभियान चलाइने उनले बताए । समयमै गम्भीर बन्नुपर्ने दायित्व रहेको भन्दै कांग्रेसले प्रकोप फैलन नदिन चुस्त र प्रखररूपले काम गर्न सरकारसँग आग्रह गरेको छ ।
देउवाले मोलमोलाइ गरे
रामचन्द्र पौडेल, वरिष्ठ नेता
‘चाँडो निष्पक्ष महाधिवेशन गराउनुपर्नेमा विभाग गठन, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य चयनका क्रममा मोलमोलाइ गरेर पार्टी कब्जा गर्ने बाटोमा वर्तमान सभापति जानुभएको छ । राज्य कब्जा गर्न खोज्ने नेकपा र कांग्रेस कब्जा गर्न खोज्ने पार्टी सभापतिविरुद्ध सशक्त बन्नुपर्ने वेला आयो । यस्तो षड्यन्त्रविरुद्ध जिल्ला–जिल्लाका नेताहरू सक्रिय भएर चासोपूर्वक लाग्नुस् । क्रियाशील सदस्य पारदर्शी रूपमा बाँड्ने काममा सहयोग गर्नुस् । हामी तपार्ईँहरूलाई संरक्षण गर्छौँ, जिल्लामा काम गर्ने साथीहरूलाई तपाईँहरू संरक्षण गर्नुस् । केन्द्रमा नेता आपसमा विभाजित छन्, खण्डित छन् भनेर प्रचार गरिएको छ, तर हामी एक छौँ । एक भएरै यहाँ उपस्थित छौँ । एकढिक्का हुन्छौँ, तपाईंहरू पनि एकढिक्का भएर जानुस् ।’
हामी एक हुन्छौँ
प्रकाशमान सिंह, नेता
‘अहिले सभापति पार्टी कब्जा गर्न लाग्नुभयो । उहाँका पछिल्ला गतिविधिले यस्तै देखाइरहेका छन् । यस्तोमा हामीबीच एकताको खाँचो झन् टड्कारो भएको छ । हामी पार्टी बनाउन लाग्छौँ । तपाईँहरू पनि ढुक्क भएर जानुस्, हामी एकताका साथ प्रस्तुत हुन्छौँ ।’
देउवालाई हटाउनुबाहेकको विकल्प छैन
डा. शशांक कोइराला, महामन्त्री
‘अब महाधिवेशन र यसका कामबाहेक अरू काममा अल्झिने अवस्था छैन । महाधिवेशन सम्बन्धित प्रशिक्षण गर्नुप¥यो भने एउटा पाटो अन्यथा अरू पार्टी कार्यक्रम गरी महाधिवेशनको मुखमा प्रभाव पार्न खोजिन्छ भने त्यो मान्य छैन । अब कांग्रेसमा नेतृत्व परिवर्तन गरेर जानेबाहेक अरू काममा दिमाग लगाउन छोड्नुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।