२१ जेठ २०८३, बिहीबार

हिजो दिनभर : प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, एक साता 'क्रिटिकल केयर'मा राखिने

फागुन २२, २०७६
हिजो दिनभर : प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, एक साता 'क्रिटिकल केयर'मा राखिने

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको अवस्था स्थिर, एक साता 'क्रिटिकल केयर'मा राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो ।

मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर अवस्थामा रहेको जानकारी दिएको छ ।

'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आज मिति २०७६ साल फागुन २१ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको छ । हाल उहाँको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ । उहाँका सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरू गरिसकेको छ र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,' अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काद्वारा बुधवार अपराह्न जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी युवतीको स्वास्थ्य स्थिति पनि सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाविरुद्ध ‘एक्सन टीम’ : ३ दिनभित्र सुझाव लिएर सरकारले थप निर्णय लिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टीम’ बनाउन निर्देशन दिएका छन् ।

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग बुधवार मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् ।

उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउन समेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने बताए ।

उनले पर्यटन क्षेत्रसँग आवद्ध सबै संघसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्नसक्ने प्रभाव र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे ३ दिनभित्र सुझाव दिन पनि आग्रह गरे । 

विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौं बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए ।

अभिभावकका रुपमा राज्य भएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसाय सञ्चालन गर्न पनि उनले पर्यटन व्यवसायीसँग आग्रह गरे ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

प्राधिकरणका महानिर्देशक राजनपोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान) लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै राज्यले यो उद्योगलाई बचाइराख्न बंैकको व्याजदर लगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने माग गरेका थिए ।

कांग्रेसले गर्‍यो तत्कालका कार्यक्रमहरु स्थगित, कोरोना सतर्कता अभियान चलाउने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणबाट सतर्क रहन तत्कालका लागि कांग्रेसले गर्ने कार्यक्रमहरू स्थगित गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता श्रेष्ठले कांग्रेसले तत्कालका कार्यक्रमहरू स्थगित गरेर गाउँ-गाउँसम्म कोरोनाबाट सतर्कता अभियान चाल्ने बताए ।

'विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ,' प्रवक्ता शर्माले भने ।

तर महाधिवेशन तयारीका लागि आन्तरिक कामहरू भने चलिरहने शर्माको भनाइ छ । 'पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहनेछ,' उनले भने ।
 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।

शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको शल्यक्रिया तथा मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले  जानकारी दिएको छ ।

यसको औपचारिक जानकारी भने पत्रकार सम्मेलन गरेर दिने तयारी रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने एक युवतीले मिर्गौला दिएकी हुन् । उनको शल्यक्रिया पनि सफल भएको छ ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १२ वर्षअघि ओलीले पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

राष्ट्रिय सभामा नवनिर्वाचित ‘माननीय’ : सहमति र सहकार्यका लागि आह्वान

नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको बुधवारको बैठकमा बोल्दै उनले भने, ‘छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक संक्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब संघर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।’

सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उनले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताए । ‘स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनले बिस्तारै गति लिँदै गएको छ ।’

सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताए ।

मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उनले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ सांसद श्रेष्ठले भने, ‘नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नु नै आजको आवश्यकता हो ।’

अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौं युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गरे ।

नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्त्व दिँदै गएको बताए ।
‘राष्ट्रिय सभाले परिपक्व व्यक्ति पाएको छ, नवनिर्वाचित सदस्यको उपस्थितिले अत्यन्त खुशी बनाएको छ,’ उनले भने, ‘राज्यले सुम्पेको अभिभारा पूरा गर्न यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ ।’

प्रतिनिधि सभाले पारित गर्‍यो प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको सफलताको विशेष प्रस्ताव
प्रतिनिधिसभा बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको सफलताको प्रस्ताव पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्य लाभको कामना सम्बन्धी विशेष प्रस्ताव पेश गरेका थिए ।

सभामुखले राखेको सो प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्