
कोरोना भाइरसको संक्रमणको त्रासले विश्व नै आतंकित बनेको छ । चीन, कोरिया, जापान लगायतका विभिन्न मुलुकमा कोरोनाका कारण मानिसको मृत्यु भएपछि नेपालमा पनि यसको चिन्ता र चासो बढेको छ ।
कोरोनाको त्रास फैलिएको भन्दै नेपालका विज्ञ तथा चिकित्सकहरूले जनस्वास्थ्यमा संकटकाल घोषणा गर्न माग गर्न थालेका छन् । उनीहरूले कोरोनाको डर र चिन्ताले जनसमुदायलाई पीडा हुने भन्दै सरकारले अभिभावकत्व लिनुपर्ने बताएका छन् ।
यसैबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेका छन् । कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुन लागेको भन्दै सरकारले तत्काल संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन,‘कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुँदैछ । हरेक तह र तप्कामा यसको डर र चिन्ताले आम जनसमुदाय पिडामा बाँचिरहेका छौं । सरकारले कोरोना संक्रमण रोक्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ । अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ । आम जनता त्रसित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन ।'
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले सरकारले सरकारलाई दिएका सुझावहरू यस्ता छन् :
१. सरकारले यथाशीघ्र जनस्वास्थ्य संकटकाल घोषणा गरोस् ।
२. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस् ।
३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस् । अहिले बट्टाका बट्टा औषधि किन्ने काम नियन्त्रण गरोस् ।
४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाद्यान्नको ६ महिना पुग्नेगरी स्टक राखोस् । आम समुदायले अत्यावश्यक सामग्री घरमा थुपार्ने तथा कालाबजारियाले सामान लुकाएर कृतिम अभाव सिर्जना गर्ने काम नियन्त्रण गरोस् ।
५. अनावश्यक हल्ला र आतंक फैलाउनेलाई कारबाही गरोस् ।
६. बिमानस्थलमा भएको चरम लापरबाही नियन्त्रण गरोस् । विमानस्थलमै कोरोना संक्रमण पत्ता लगाउने ल्याबको ब्यवस्था गरोस् ।
७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस् । कोरोना संक्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरोस् ।
८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ । यो डरलाग्दो पक्ष हो । तसर्थ अस्पतालमा सुरक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नियन्त्रण गर्ने ब्यवस्था मिलाओस् ।
९. भीडभाड हुने ठाउँ बन्द गरोस् ।
१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज बन्द गरोस् । स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल बन्द गरोस् ।
११. कोरोना संक्रमणको डर र त्रास हटाउन सबै निकायलाई परिचालन गरोस् ।
१२. सम्भब भएका काम अनलाइनबाट (घरमै बसेर) गर्न प्रोत्साहन गरोस् ।
१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फर्किन प्रोत्साहिन गरोस् ।
१४. क्वारेन्टाइन, आइसोलेसन, आइसीयु, भेन्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस् ।
१५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस् ।