
कोरोना संक्रमणबाट जाेगिन स्वास्थ्य मन्त्रालयको ४ बुँदे अपील
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपील गरेको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाद्वारा बिहीबार जारी ४ बुँदे अपीलमा भीडभाड भएको ठाउँमा सकभर नजान उल्लेख छ।
यस्तो छ चार बुँदे अपील
-नियमित रुपमा साबुनपानीले मिचिमिची २० सेकेन्डसम्म हात धुने
-बिरामी व्यक्तिबाट अरुमा संक्रमण नसरोस् भन्नका लागि र बिरामीको स्याहारमा संलग्न हुँदा मास्कको प्रयोग गर्ने
-खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख छोप्ने
-ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्दा गाह्रो हुने जस्ता समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भयो ईपीएल
आगामी चैतको पहिलो साताबाट काठमाडौंमा शुरू हुने भनिएको एभरेस्ट प्रिमियर लीग क्रिकेट प्रतियोगिता (ईपीएल) स्थगित भएको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला नेपालमा पनि त्यसबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।
स्थिति सामान्य भएपछि नेपाली र ईपीएलमा अनुबन्धित विदेशी खेलाडीको खेल तालिका मिलाएर नयाँ तालिका सार्वजनिक गरिने ईपीएलका कार्यकारी निर्देशक आमिर अख्तरले जानकारी दिए ।
ठूला जमघट, कार्यक्रम र मेलामहोत्सव नगर्न सरकारले यसअघि नै निर्देशन दिइसकेको छ ।
उत्तरी छिमेकी मुलुक चीनबाट देखिन शुरू भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा समेत देखिइसकेको छ ।
युरोप तथा अमेरिकामा समेत कोरोना संक्रमणका कारण मानिसहरूले ज्यान गुमाइरहेका छन् ।
सरकारले भन्यो– 'मास्कको उत्पादन र आपूर्ति बढाउँछौं'
कोरोना भाइरसको सन्त्रासका बीच बजारमा मास्कको हाहाकार भएपछि सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले मास्कको उत्पादन र आपूर्ति बढाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा अहिलेसम्म संक्रमित नभएको र आशंका गरिएकोमा नेगेटिभ रिर्पोट देखिएको जानकारी गराएका हुन् ।
‘कोरोनाको संक्रमणका लागि उच्चस्तरीय बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय गरेका छौं । आधारभूत औषधि अभाव हुन नदिन छिमेकी मुलुकले औषधि निर्यातमा रोक लगाएकोमा त्यसलाई फुकाउन आग्रह गर्ने र अन्य आपूर्तिमा कृत्रिम अभाव हुन नदिन पहल गर्ने निर्णय गरेका छौं । मास्कको आपूर्ति बढाउने र थप मास्क उत्पादन गर्न निजी क्षेत्रलाई समेत आह्वान गर्ने निर्णय गरेका छौं,’ मन्त्री खतिवडाले भने ।
शेयर बजारबारे अर्थमन्त्री भन्छन्– बजारको सेन्टिमेन्टलाई व्यक्तिसँग जोडेर नहेरौं
सरकारले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा प्रतिकूल असर परिनसकेको बताएको छ ।
कोरोनाका कारण अर्थतन्त्रमा पर्ने असरबारे अर्थमन्त्रालय र राष्ट्र बैंकले अध्ययन शुरू सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका खतिवडाले अर्थतन्त्रमा कोरोनाको लक्षण अहिले देखिइनसकेको दाबी गरे ।
‘अर्थतन्त्रमा पर्नसक्ने कोरोनाको असरबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकले अध्ययन शुरू गरेको छ । शुरूमा लक्षण देखा पर्ने हो र असर पछि हुनसक्छ,’ मन्त्री खतिवडाले भने, ‘पर्यटन, व्यापार, निर्माण र बजारको आपूर्तिमा यसको असर देखिने भएपनि अहिलेसम्म प्रतिकूल असर परिसकेको छैन ।’
मन्त्री खतिवडाले नेपाल भ्रमण वर्षको बाह्य प्रचार–प्रसार रोकिएको र भ्रमण वर्षलाई कसरी अगाडि बढाउने भन्नेबारे यो रोगको नियन्त्रणमा भरपर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सर्वोच्च अदालतले दिएको आदेशको सरकारले सम्मान गर्ने बताए । ‘अदालतको निर्णयको सम्मान गर्दै अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार काम गर्ने हो । अन्तराष्ट्रिय कानूनलाई पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने ।
सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका खतिवडाले सेक्युरिटी प्रेस प्रतिस्पर्धात्मक विधिबाट प्रचलित विधि र कानून अनुसार खरिद गर्ने दोहोर्याए ।
'बजारको सेन्टिमेन्टलाई मसँग नजोड्नुस्'
मन्त्री खतिवडाले शेयर बजारमा दुईवर्षयताकै धेरै सुधार आएको दाबी गरे । बजारको सेन्टिमेन्टलाई आफूसँग जोडेर नहेर्न उनको आग्रह छ ।
‘नेप्से विगत दुई वर्षमा सबैभन्दा सुधार यही बेला भएको छ, यति धेरै सुधार भएको छ जति धेरै वर्षमा पनि भएको थिएन,’ तपाईंसँग शेयर बजार किन तर्सेको भन्ने लोकान्तर संवाददाताको प्रश्नमा उनले भने, ‘अर्थमन्त्रीको काम लगानीकर्ताको अवसरसम्म पुर्याइदिने हो । आफूले लगानी गर्ने कम्पनीको वासलत, भविष्य हेरेर निर्णय गर्नुपर्छ । सरकारबाट आउने नीति पर्खिनुपर्छ । बजारको सेन्टिमेन्टलाई हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन ।’
कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए - प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् ।
वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उनले उल्लेख गरे ।
नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए ।
उनले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताए । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गरे ।
रक्षामन्त्रीले संसदीय समितिलाई टेरेनन्, सांसदहरूको आपत्तिपछि बैठक स्थगित
रक्षामन्त्री ईश्वर पोखरेलले संसदीय समितिलाई अवमूल्यन गरेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।
नेपाली सेनाभित्र आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको बैठकमा मन्त्री पोखरेल अनुपस्थित भएका हुन् ।
रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।
सेनामा आर्थिक अनियमितता भएको र भ्रष्टाचार बढेको भन्दै सांसद रेनुका गुरुङले यसविषयमा छलफल गर्न माग गरेकी थिइन् । यस्तै पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीले भ्रष्टाचार गरेको भन्दै परेको उजुरी माथि प्रारम्भिक छानबिनपछि राज्य व्यवस्था समितिको गुनासो उपसमितिले यससम्बन्धमा विस्तृत छानबिन गर्नुपर्ने प्रतिवेदन समितिमा बुझाएको छ ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, नेकपाका कृष्णगोपाल श्रेष्ठ, झपड रावल लगायतले रक्षामन्त्री र प्रधानसेनापतिको उपस्थितिविना छलफल गर्नुको औचित्य नहुने बताएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरिन्।
रक्षामन्त्री पोखरेललाई बोलाइएपनि बैठकमा मन्त्रालयका सचिव रश्मीराज पाण्डे उपस्थित भएका थिए ।