
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा आइतबारदेखि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ । कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका बिरामी भाग्ने घटना देखिन थालेपछि अस्पताल प्रशासनले प्रहरी र परामर्शदाता राख्ने निर्णय गरेको हो ।
‘माइक्रोफोन राखेर सुरक्षित दोहोरो संवादको समेत व्यवस्था गरिरहेका छौं,’ अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले भने । बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि माइक्रोफोन राख्न थालिएको हो । आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नपाऊन् भनेर अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको छ । अस्पतालको आइसोलेसन वार्डमा राखिएका दक्षिण कोरियाबाट आएका एक नेपाली बुधबार राति भागेका थिए । यसअघि समेत एक जना विदेशी नागरिक अस्पतालबाट भागेका थिए । ‘उनी डराएका थिए, अन्य लक्षण देखिएको थिएन,’ डा.राजभण्डारीले भने । उनका अनुसार भागेका ती बिरामीलाई बिहीबार विराटनगरमा फेला पारेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा जान भनिएको छ ।
‘अस्पताल आउँदा उनको मुख सुक्खा थियो’, अस्पतालका डा. अनुप बाँस्तोलाले भने, ‘कोरियामा नै संक्रमण भयो कि भनेर आत्तिएकासमेत थिए ।’ अस्पतालमा बुधबार कोरिया, यूएई र कतारबाट आएका ३ नेपाली र नेपाल भ्रमणमा रहेका एक फ्रेन्च नागरिक भर्ना भएका थिए । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । हाल उक्त अस्पतालमा ४ जना शंकास्पद बिरामी भर्ना छन् । गत मंगलबार कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षणपछि संक्रमण नदेखिँदा अस्पतालले डिस्चार्ज गरेको थियो ।
‘भयभीत नबनौं, सतर्कता अपनाऔं’
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन औषधि, मास्क, मेडिकल उपकरणको उचित व्यवस्थापन र विदेशबाट आउनेको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएकाले तत्काल सर्वसाधारणले त्रास मान्नुनपर्ने जनाएको छ । नाकाहरूबाट आउजाउ गर्नेलाई जाँच गरेर मात्र आउन दिने व्यवस्थाले यसको रोकथाममा सहयोग पुगिरहेको सरकारले जानकारी गराएको हो ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार सिंहदरबारमा आयोजत पत्रकार सम्मेलनमा सरकारले ३७ वटा स्थल नाकामा छिट्टै मेडिकल टोलीसहितको सुरक्षा व्यवस्था मिलाउने बताए । भारतले औषधि निर्यातमा रोक लगाएको सम्बन्धमा राखिएको जिज्ञासामा उनले विशेष अनुरोध गरेर भए पनि तत्काल औषधि आपूर्तिलाई सहज बनाइने बताए । खतिवडाले निजी क्षेत्रसँग मिलेर सरकारले मास्क उत्पादन सुरु गर्ने तयारी गरेको जानकारी दिए । उनले सतर्कता अपनाउनु स्वाभाविक भए पनि भयभीत नहुन सर्वसाधारणलाई आह्वान गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विमानस्थलमा पालैपालो ७ जनाको चिकित्सक टोली नियमित बसेको जानकारी दिए । उनका अनुसार सातै प्रदेशमा पनि टोली पठाइसकिएको छ । उच्चस्तरीय समितिको बिहीबारको निर्णयअनुसार स्थल नाकाहरूमा थप टोली खटाउने तयारी गरिएको छ । भारतले औषधि निर्यातमा रोक लगाए पनि हाल औषधि पर्याप्त रहेको जानकारी देवकोटाले दिए । उनका अनुसार नाकाहरूमा जाँचका लागि सयभन्दा बढी थर्ममिटर खरिद गरिसकिएको छ । सरकारले आवश्यक परेमा भारतबाट औषधि ल्याउन विशेष पहल गर्ने निर्णय भइसकेको उनले बताए । ‘उपत्यकाका सरकारी र निजी अस्पतालका बेडहरूको संख्या र सम्भावित बिरामीको उपचारबारे योजना बनाइसकिएको छ । शुक्रराज, पाटन र सैनिक अस्पताललाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने । नेपालमा अहिलेसम्म संक्रमित नभेटिएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले सञ्चार माध्यमबाट कहिलेकाहीँ हुँदै नभएका विषय आउँदा भय सिर्जना हुने बताए ।
अस्पतालमा आईसीयू बेड छैन भनेर हल्ला हुने गरेको उल्लेख गर्दै उनले आवश्यक पर्दा कतिवटा अस्पताल प्रयोग गर्ने भनेर योजना तयार भइसकेकाले सर्वसाधारणले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मुलुकमा अहिलेसम्म २६ जना शंकास्पद बिरामी देखिएर जाँच गर्दा २१ जनामा कोरोनाको लक्षण नदेखिएको जानकारी दिए । ‘५ जनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।
यसैबीच, बिहीबार रक्षामन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको संयोजनमा बसेको बैठकले कोरोनाको रोकथाम र उपचारका लागि १५ बुँदे निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूलाई ‘सेल्फ डिक्लेरेसन फर्म’ उपलब्ध गराउने, विमानस्थलमा स्वास्थ्य जाँचका लागि प्रिफ्याब संरचना निर्माण गर्ने, विश्व बैंकको सहयोग लिने, सीमा आगमन कम गर्ने समितिले निर्णय गरेको छ । समितिले सीमामा थप स्वास्थ्य टोली खटाउने, निजी क्षेत्रसितको लागत सहभागितमा मास्क उत्पादन गर्ने, सीमामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, क्रस बोर्डर मिटिङ गर्ने, भारतबाट औषधि तथा आवश्यक मेडिकल सामग्री आयात गर्नेलगायत निर्णय गरेको छ । बैठकमा विश्वमा कोरोनाको संक्रमण, नेपालको अवस्था र अपनाउनुपर्ने सतर्कताको विषयमा छलफल भएको थियो ।
विद्यालय बन्दबारे स्पष्ट निर्णय माग
काठमाडौं (कास)– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई लिएर विद्यालय बन्द गर्नेबारे ‘स्पष्ट निर्णय दिन’ विद्यालय सञ्चालक तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार सिंहदरबारमा बोलाएर गरेको छलफलमा उनीहरूले विद्यालय ‘कहिलेदेखि र के कस्तो तरिकाले बन्द गर्नुपर्ने’ भन्नेबारे सरकारले स्पष्ट निर्णय/निर्देशन दिन नसकेको गुनासो गरेका हुन् ।
एसईई परीक्षाअघि नै कक्षा १ देखि ९ सम्मको परीक्षा सकेर स्कुल बन्द गर्न यसअघि नै सरकारले निर्देशन दिइसकेको छ । बालबालिकाको सामूहिक सहभागिता नहोस् भनेर चाँडै शैक्षिकसत्र टुंग्याउन निर्देशन दिएको सरकारले भेला, गोष्ठी र सेमिनार नगर्न विद्यालय सञ्चालकहरूलाई सचेत गराइसकेको छ । नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले संवदेशनशील परिस्थितिमा परीक्षाको विषय गौण भएको उल्लेख गर्दै आवश्यक परे विद्यालय बन्द गर्न पनि सकिने बताए । ‘कोभिड–१९ को संक्रमणका हिसाबले नेपाल संवेदनशील अवस्थामा छ भने परीक्षा नकुरौं, निश्चित समयका लागि विद्यालय नै बन्द गरौं ।’
सहसचिव कृष्णप्रसाद काप्रीले सरकारको यसअघिको निर्देशन यथावत् रहेकाले चैत ५ भित्रै परीक्षा सञ्चालन हुने बताए । उनले परीक्षा लिइसक्न दिइएको निर्देशनलगायतका विषयबारे छलफल गर्न सरोकारवाला पक्षलाई बोलाइएको जानकारी दिए । प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले सदस्य विद्यालयहरूलाई मन्त्रालयको निर्देशनानुसार परिपत्र गरिसकेको जनाए ।
छलफलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेसनल प्याब्सन, राष्ट्रिय अभिभावक महासंघ, शिक्षक महासंघका प्रतिनिधि तथा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा मानव स्रोत केन्द्र र सीटीईभीटीका अधिकारी सहभागी थिए ।
राष्ट्रिय अभिभावक संघका अध्यक्ष यादव शर्माले कोभिड–१९ लाई समाजमा आतंकका रूपमा नभई सचेतनाका रूपमा लिन संयमता अपनाउनुपर्ने बताए । अधिकांश विद्यालयहरू एसईईपछि परीक्षा लिने तयारीमा थिए । पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ बाट १५ गतेसम्म एसईई परीक्षा हुँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।