
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोड रुपैयाँको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने, 'परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।'
उनकाअनुसार केबुलकारको टावरको खाल्डा खन्ने, पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महिनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । 'केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्ने तयारी गरिएको छ,' उनले भने ।
केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चारतारे होटलको कामलाई पनि अगाडि बढाउन लागिएको छ । 'केबुलकार बाहेक अन्य संरचना निर्माणका लागि केही समय लागे पनि पहिलो चरणमा केबुलकार सञ्चालनमा ल्याउने योजनाबमोजिम कामलाई तीव्रता दिइएको छ,' लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले भने ।
माथिल्लो स्टेशनमा ८० करोडको लागतमा होटल निर्माण गर्नका लागि काठमाडौंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । उनका अनुसार २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले ९७ करोड ऋण दिने सहमति भएको छ ।
केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौंस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रूपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् ।