
काठमाडौं, ६ वैशाख –विकट् जिल्लाका बालबालिकालाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको दिवा खाजा कार्यक्रममा व्यापक घोटाला हुने गरेको देखिएको छ । दिवा खाजा कार्यक्रमका लागि सरकारले विनियोजन गरेको बजेटको झण्डै ३ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ ।
जिल्ला शिक्षा कार्यालय डोल्पासहित ३ कार्यालयले दिवा खाजाको रकमको ३४ लाख रुपैयाँ घोटाला गरेका छन् ।
बालबालिकालाई विद्यालय जान प्रेरित गर्न कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७२/७३ को व्यवस्था अनुरुप सरकारले विनियोजन गरेको रकममा कर्मचारीले अनियमितता गरेका हुन् ।
पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीका लागि प्रतिविद्यार्थी दैनिक १२ रुपैयाँको दरले रकम उपलब्ध गराउने सरकारी व्यवस्था छ । उक्त रकम विद्यालय खुल्ने दिनको गणना गरी २ सय दिन सम्मको रकम उपलब्ध गराउने व्यवस्था अनुरुप सरकारले उक्त रकम विनियोजन गरेको थियो ।
तर, ती जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरूले वास्तवीक भन्दा बढी विद्यार्थीका लागि भन्दै ३४ लाख रुपैयाँ निकाशा दिएर अनियमितता गरेका महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, जिल्ला शिक्षा कार्यालय, दाङ र डोल्पाले शैक्षिकसत्र समाप्त भइसकेपछि २ करोड ७३ लाख दिवा खाजामा निकासा दिएको प्रतिवेदनमा जनाइएको छ ।
परीक्षकले वास्तविकताभन्दा बढी ३४ लाख रुपैयाँ बढी दिइएको निकासा असुल गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, कार्यक्रम कार्यान्वयनमाथि परीक्षकले प्रश्न उठाएको छ ।