०१ असार २०८३, सोमबार

नचिनिएका जनप्रतिनिधि चित्रकार रम्तेल

फागुन २४, २०७६
नचिनिएका जनप्रतिनिधि चित्रकार रम्तेल

रुपन्देहीका पुराना चित्रकार हुन्- हर्कबहादुर रम्तेल । उनलाई एचबी रम्तेल भनेर धेरैले चिन्छन् । रुपन्देहीको तिलोत्तमा–१४ सुपौलीका रम्तेलले चित्र कोर्न थालेको ४० वर्षभन्दा बढी भइसक्यो । रम्तेललाई सानैदेखि चित्र कोर्ने भोक थियो । उनले नेपालका विभिन्न सम्पदा, जनजीवनदेखि पंक्षीहरूको चित्र कोरेर चार दशक बिताए ।

उनको कलावारे यस क्षेत्रका धेरै अनविज्ञ नै छन् । उनले १२ वर्षको उमेरबाटै चित्र कोर्न थालेका हुन् । उनले हजारौं चित्र बनाए । उनले 'वाल पेन्टस्' मार्फत आफ्नो कला प्रस्तुत गरे । तर धेरैलाई चित्र क्यानभासको महत्व नै थाहा नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘चित्रसँग जसले नजिकबाट सम्बन्ध राख्छ उनले कलाको महत्व बुझ्छ । अरूलाई त्यति थाहा नहुन पनि सक्छ ।’ कलाकारितामा भौतारिँदै हन्डर खाँदै रम्तेल रुपन्देहीमै बसेर लामो समयदेखि चित्रकारिता गरिरहेका छन् ।

रम्तेल २०१७ सालमा मलेसियमा जन्मिए । उनको परिवार वर्मामा बस्थ्यो । बुवा भर्ती भएर मलेसिया पुगेका थिए । बुवाको मलेसियामै विवाह भयो । रम्तेल त्यहीँ जन्मिए । कक्षा ४ सम्म मलेसियामै अंग्रेजी माध्यममा पढे । त्यसपछि उनको परिवार नेपाल आयो । अंग्रेजी पढेका रम्तेल रुपन्देही हाल तिलोत्तमा नगरपलिका पर्ने टिकुलीगढ माविमा फेरि कक्षा १ मा भर्ना भएर कखरा शुरू गरे ।

त्यहीं पढाईमा अब्बल रम्तेलले पढाईसँगै चित्र पनि कोर्न थाले । उनले मलेसियाका पढ्दा पनि पेन्सिल र वाटर कलरले चित्र बनाउन सिकिसकेका थिए । कक्षा सातसम्म पढ्दा उनले विद्यालयमा धेरै चित्रहरू बनाए । उनले बनाएका चित्रहरू राम्रो देखेर शिक्षकहरू पनि दंग पर्थे र भन्ने गर्थे- तिमी पछि गएर राम्रो चित्र बनाउने कलाकारको रूपमा स्थापित हुन्छौ ।

ढिलो गरी नेपालमा आएर पढ्न थालेका उनी कक्षा सातमा पुग्दा उनी १७ वर्ष पुगिसकेका थिए । पढाई बीचमै चटक्कै छाडेर भैरहवामा रहेका हिताङ्ख आट्समा गएर चित्र भर्न थाले । हिताङ्ख आट्सका सञ्चालक हरि हिताङ्ख रम्तेलका बाबाका साथी थिए । उनी भन्छन्, ‘पेन्टिङको अक्षरारम्भ हिताङ्ख आट्सबाट शुरू भएको हो ।’

त्यहाँ पनि उनी सन्तुष्ट भएनन् । २०३५ सालमा भैरहवा जान्छु भनेर घरबाट भागेर उनी भारतको आसाम पुगे । त्यहाँ रहेको गोल्डपट्स थमसिङ लिम्का बनाउने कम्पनी आबद्ध भए । चिसो पेय पद्धार्थ उत्पादन गर्ने कम्पनीको प्रचार गर्ने गरी आट्सको लागि उनले आसाम, सिल्चर, करिमागञ्ज भर पेन्टस् गरे । उनको कला देखेर सबै छक्क पर्थे । उनले त्यहाँ ट्रेसिङमा पनि ड्रोइङ मास्टरको रूपमा पनि उनले काम गरे ।

सन् १९८१ मा आसाममा आन्दोलन भयो । आन्दोलनकै कारण कम्पनी बन्द भएपछि उनी नेपाल फर्किए । त्यसपछि उनी पुनः हिताङ्ख आट्समा आबद्ध भएर काम गरे । त्यहाँ पनि उनी टिकेनन् । फेरि उनी भारतको नयाँ दिल्लीमा साहदरा बलिया आट्समा डिजाइनको काम गर्न थाले । त्यहाँ उनले भारतका महान् व्यक्ति महात्मा गान्धी, इन्दिरा गान्धी, सुवासचन्द्र बोस, ताजमहललगायत हजारौं चित्र कोरेर भारतीयहरूको पनि मन जिते । बुवा बिरामी भएछि उनी दुई वर्षपछि घर आए र बुटवलमा एचबी आट्स सञ्चालन गरे । उनको आट्समा उनी राजारानी, हिमाल, विभिन्न सांस्कृति सम्पदा र चराचुरुङगीको चित्र कोर्न थालेपछि धेरैको रजाइमा उनको कला पर्न थाल्यो । उनी अहिले विसं २०४० सालदेखि हालसम्म पनि चित्रकलामा उत्तिकै व्यस्त छन् । उनले बनाएका चित्रले नेपालको हुबहु चित्र उतारेको देख्न सकिन्छ । उनले जातीय विभेद सम्बन्धी चित्रहरू पनि धेरै कोरे । जुन चित्रले नेपालमा विद्यमान जातीय विभेदलाई छरलङ पार्छ ।

नेपालको इतिहास, हिमाल, र विभिन्न संस्कृति र समाज बोकेका चित्रहरु बनाएर कला क्षेत्रलाई जर्गेना गर्ने उद्देश्यले उनले चित्रहरु बनाउन थालेका हुन् । उनले अहिले आट्सबाटै वार्षिक दश लाख रुपैयाँसम्म कमाइरहेका छन् । ‘चित्र कलाकार अनुसार फरक–फरक प्रकृतिका कोरिन्छन् । चित्रले पुरानो संस्कृति पुस्ताको कलाको विषयमा ज्ञान हुन्छ,’ रम्तेल भन्छन् । उनका चित्रहरू धेरैका रोजाइमा परेका छन् । उनी भन्छन्, ‘सबै क्षेत्रका चित्र कोर्दै आए पनि म धेरै चराहरूमा खेल्छु । लोप हुँदै गएका चराहरूको चित्र मैले धेरै बनाएको छु । त्यस्तै लुम्बिनी, हिमाल र गाइनेहरूका चित्र पनि बनाउँछु ।’ अझै पनि नेपालमा पेन्टिङको महत्व भएको उनको बुझाइ छ ।

नेपाली इतिहास र सभ्यता बोकेका चित्रहरूलाई जगेर्ना गर्न आफूले त्यस्तै खाले चित्र कोर्ने गरेको उनी बताउँछन् । उनले चित्रकलामा राम्रो दब्खल राख्नेलाई अझै नेपालमा ठूलो अवसर रहेको बताउँछन । पछिल्लो समय विद्यालयहरूमा चित्रकला प्रतियोगिता कार्यक्रम राखिने गरेका छन् । रम्तेलले आफ्नो घरमा कम्तीमा एउटा पेन्ट्स गर्नुपर्ने उनको सुझाव छ । बजार क्षेत्रका घरहरूको सिँढीमा पेन्ट्स गर्दा घरको शोभासमेत बढ्ने उनको भनाइ छ । उनले भने, ‘राज्यले कला साहित्यमा संरक्षण र प्रवर्द्धन गर्न सकेको छैन । यो कला क्षेत्रमा बजेट विनियोजन गर्नुपर्छ ।’

उनी जनप्रतिनिधि पनि हुन् । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य हुन् । उनकै पहलमा नगरपालिकाले कला साहित्यको क्षेत्रमा १० लाख रुपैयाँ बजेट विनियोजन गर्नुका साथै बुटवल भैरहवा सिक्स लेन सडकमा बुद्धमूर्ति पनि राखिएका छन् । उनीकै पहलमा विभिन्न कार्यशाला भइरहेका पनि छन् । उनी यसअघि विसं २०४९ मा वडाध्यक्ष पनि भएका थिए ।

उनले यस क्षेत्रमा कलाकारहरूलाई एकताबद्ध गरी नेपाल कर्मशियल आट्स गठन गरी त्यसको १२ वर्ष नेतृत्व समेत गरे । रम्तेलले विभिन्न नाटकहरूमा पनि अभिनय गरेका छन् । उनी नेकपा निकट जनसांस्कृतिक महासंघ अन्तर्गतको ललितकला महासंघ परिषदको केन्द्रीय सदस्य पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्