०७ असार २०८३, आइतबार

प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज, पत्नी राधिका अझै केही दिन अस्पतालमै राख्ने पक्षमा

फागुन २५, २०७६
प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज, पत्नी राधिका अझै केही दिन अस्पतालमै राख्ने पक्षमा

बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् । 

मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जतिसक्दो चाँडै डिस्चार्ज मागेका छन् । शनिबार राउन्डमा गएका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन् । तर, डिस्चार्ज दिएपछि घरमा आरामभन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमा राख्ने पक्षमा चिकित्सकहरू छन् । 

चाँडै डिस्चार्ज दिँदा विगतमा भेटघाट र कार्यक्रमले आराम नपाएको भन्दै यसपटक चिकित्सक केही दिन बढी प्रधानमन्त्रीलाई अस्पतालमै आराम गराउने पक्षमा देखिएका हुन् । प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यले पनि चिकित्सकलाई केही दिन अस्पतालमै आराम गराउन अनुरोध गरेको चिकित्सक बताउँछन् । उपचारमा संलग्न एक चिकित्सकले शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘विगतको अस्पताल बसाइ पनि निकै कम भयो, डिस्चार्ज दिएपछि उहाँलाई सचिवालयका मान्छेले आराम गराउनेभन्दा पनि कार्यक्रममा बढी लैजाने गरे । त्यसैले यसपटक अस्पतालमै केही दिन राखिदिनुहोला ।’ 

संक्रमण नहोस् भनेर प्रधानमन्त्रीलाई चिकित्सकले शुक्रबारदेखि फिजियोथेरापी सुरु गराएका छन् । फिजियोथेरापीलाई शनिबार पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । फिजियोथेरापीमा ओलीलाई खोक्न लगाउने, हातखुट्टाका औँला चलाउने, खुट्टामा तेल लगाउने, हिँडाउनेजस्ता काम गराइएको छ । 

शिक्षण अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएको छ । ‘प्रत्यारोपणको चौथो दिन अपेक्षाअनुसार नै सुधार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नर्मल खाना खानुका साथै हिँडडुलसमेत गर्नुहुन्छ ।’मिर्गौलादाता भान्जी नाता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्