
कुहिरहेको फोहरको डंगुरमा झिंगा भन्किरहेको मृत छाउरो छ । कुइगन्ध फैलिएको छ । यी सबैलाई बेवास्ता गर्दै सिरियाकी सानी बालिका भुइँमा खसेको पाउरोटी टिप्छिन् र खान्छिन् ।
टर्कीको सीमावर्ती शहर पाजारकुलमा रहेको मेरिक नदीको किनारमा बिहानको भोजनको बेला भएको छ । विगत एक हप्तादेखि यो संसारको सबभन्दा दुखिया ठाउँमध्ये एक भएको छ । यहाँ हजारौं शरणार्थी र आर्थिक आप्रवासीहरू भेला भएका छन् । साना शिशु र अपांग बालबालिका समेत लिएर परिवारहरू यहाँ भेला भएका छन् ।
युरोप पस्ने आशाका साथ त्यहाँसम्म आइपुगेका शरणार्थीहरू अहिले पीडा र आक्रोश पालिरहेका छन् ।
ग्रीस र युरोपेली संघको प्रवेशद्वार अलिकति हिँडेर उता जाँदा आइपुग्छ । तर शरणार्थीहरू त्यहाँबाट अघि बढ्न सकेका छैनन् र अलपत्र परेर त्यहीँ अड्किरहेका छन् ।
ग्रीसले अवैध रूपमा सीमा पार गर्नका लागि एक हप्तामा ३५ हजार प्रयास गरिएको जनाएको छ । टर्कीले आप्रवासीलाई मोहरा बनाएको आरोप छ ।
हजारौं आप्रवासीलाई बसमा राखेर टर्कीका अधिकारीले सीमामा पठाएको र सीमापारि जान प्रेरित गरेको विश्वास ग्रीसेली अधिकारीहरूले गरेका छन् ।
सिरियामा आक्रमण गरेपछि टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले आप्रवासीहरूलाई युरोप जान प्रेरित गरिरहेका छन् ।
युरोपेली संघले अर्दोआनलाई सन् २०१६ को एक सम्झौतामा कायम रहन आग्रह गरेको छ । त्यस सम्झौता अन्तर्गत अंकाराले युरोप आउने लाखौं शरणार्थीलाई रोकेको बदलामा अर्बौं रुपैयाँको सहायता पाउनेछ ।
अर्दोआनले युरोप जाने ढोका आफूहरूले खोलेको भनी घोषणा गरेको एक हप्ता बितिसकेको छ । उनको बयानपछि टर्कीमा रहेका हजारौं आप्रवासीहरू ग्रीस जान थालेका छन् ।
तर ग्रीसले उनीहरूलाई पस्न नदिएपछि उनीहरू चरम निराशा अनुभव गरिरहेका छन् ।