१० साउन २०८३, आइतबार
५९ औं आसियान विदेशमन्त्री बैठक

आसियान-भारत सम्बन्ध थप मजबुत, व्यापार र समुद्री सुरक्षामा सहकार्य बढाइने

साउन १०, २०८३
काठमाडौं
आसियान-भारत सम्बन्ध थप मजबुत, व्यापार र समुद्री सुरक्षामा सहकार्य बढाइने

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र भारतले व्यापार, कनेक्टिभिटी, समुद्री सुरक्षा तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै दीर्घकालीन साझेदारीलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फिलिपिन्सको राजधानी मनिलामा हालै आयोजित ५९ औं आसियान विदेशमन्त्री बैठकअन्तर्गतको पोस्ट–मिनिस्ट्रियल सम्मेलनमा दुवै पक्षका विदेशमन्त्रीहरूले सहकार्यका प्राथमिकताबारे छलफल गर्दै व्यापार, समुद्री अर्थतन्त्र, पर्यटन, आपूर्ति शृङ्खला तथा समुद्री कानून कार्यान्वयनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाएका हुन् ।

बैठकमा फिलिपिन्सकी विदेशमन्त्री थेरेसा पी. लाजारोले भारत–आसियान सम्बन्ध स्थापना भएको ३४ वर्षमा साझेदारी उल्लेखनीय रूपमा विस्तार भएको बताइन् ।

उनले सन् २०२२ मा सम्बन्धलाई ‘व्यापक रणनीतिक साझेदारी’मा स्तरोन्नति गरिएको उल्लेख गर्दै यसले ग्लोबल साउथका मुलुकहरूबीच साझा चुनौती र आकांक्षालाई सम्बोधन गर्ने आधार तयार गरेको बताइन् ।

लाजारोले हालैका पर्यटन आदानप्रदान कार्यक्रम तथा आगामी ‘आसियान समुद्री सहकार्य वर्ष’ अन्तर्गत सञ्चालन हुने गतिविधिबारे जानकारी दिँदै व्यापार, ब्लु इकोनोमी, पर्यटन र कनेक्टिभिटी प्रवर्द्धनमा जोड दिइने बताइन् ।

उनका अनुसार समुद्री जैविक अनुसन्धान, महासागर इन्जिनियरिङ, समुद्री ऊर्जा तथा समुद्री कानून कार्यान्वयनका क्षेत्रमा कार्यशाला, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।

‘यसले हाम्रो साझेदारी व्यावहारिक, जनमुखी र दुवै क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने किसिमको रहेको देखाउँछ,’ उनले भनिन्।

भारतका विदेशमन्त्री एस. जयशंकरले सम्मेलन आयोजना गरेकोमा फिलिपिन्सलाई धन्यवाद दिँदै भारत–आसियान व्यापक रणनीतिक साझेदारीलाई सुदृढ बनाउन फिलिपिन्सले निर्वाह गरेको समन्वयकारी भूमिकाको प्रशंसा गरे ।

उनले वर्तमान विश्व अत्यन्त अस्थिर अवस्थामा रहेको उल्लेख गर्दै कुनै एक देश वा क्षेत्रीय समूहले मात्र विश्वव्यापी चुनौतीको सामना गर्न नसक्ने बताए ।

‘विश्व आपूर्ति शृङ्खला, ऊर्जा सुरक्षा, खाद्य सुरक्षा र स्वास्थ्य सुरक्षामा बढ्दो दबाब देखिएको छ,’ उनले भने, ‘समुद्री व्यापारमा निर्भरता बढ्दै जाँदा समुद्री मार्गको सुरक्षा झन् महत्त्वपूर्ण बनेको छ ।’

जयशंकरले समुद्री मामिलामा अन्तर्राष्ट्रिय कानूनको सम्मान आवश्यक रहेको उल्लेख गर्दै सन् २०२६ लाई ‘आसियान–भारत समुद्री सहकार्य वर्ष’का रूपमा मनाइने तयारीलाई स्थिर र सुरक्षित भविष्य निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरे ।

‘यो थप सुरक्षित र स्थिर भविष्यका लागि हामीले के गर्न सक्छौं भन्ने समयानुकूल सन्देश पनि हो,’ उनले भने ।

विश्वव्यापी अनिश्चितताका बीच पनि भारत र आसियानले भविष्यप्रति आशावादी रहँदै साझा अवसरको उपयोग र चुनौतीहरूको संयुक्त रूपमा सामना गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्