२४ जेठ २०८३, आइतबार

चरखण्डी खोलामा बन्ने भयो पुल

फागुन २५, २०७६
चरखण्डी खोलामा बन्ने भयो पुल

सूर्यविनायक नगरपालिका– १ सिरुटार र  वडा नं ४ त्रिपुर जोड्ने सिमानामा रहेको चरखण्डी खोलामा निर्माण हुने पुलको शिलान्यास गरिएको छ ।  स्थानीय विकास पूर्वाधार आयोजनाको भ्याटबाहेक कूल रु ७० लाख ४७ हजारको लागतमा पुल निर्माण हुन लागेको हो ।

पुलको आज शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताए । सांसद बस्नेतले चुनावमा भोट माग्दा जनताले सडक, ढल र खानेपानीको माग गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा जनताका माग पूरा गर्ने गरी विकासमा क्रान्ति ल्याएको बताए। 

“यस वर्ष मात्रै साना १० र ठूला छ पुल बनिरहेका छन्, भक्तपुरमा हाम्रो पहलमा गत वर्षदेखि अहिलेसम्म २९ पुल निर्माणको काम अगाडि बढाएका छौँ”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले भने, “बिहान उठेदेखि राति नसुतेसम्म जनताको विकासको काम लिएर हिँडिरहेको छु, जनताले खाजेको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”

वाग्मती प्रदेश सभाका सदस्य शशिजङ्ग थापाले कौशलटार–बालकोट–सिरुटार सडक खण्डअन्तर्गत बालकोटसम्म सकिएको र अर्को आवमा सिरुटारको सडक विस्तार सम्पन्न गरिने बताए । उनले सङ्घीय, प्रदेश र स्थानीय बजेटले आगामी दुई वर्षभित्र पक्की सडक, ढल र खानेपानीको पहुँच सबै नागरिकको घरघरमा पुग्ने गरि विकासका काम अगाडि बढाइएको जानकारी गराए । 

नगरपालिकाका उपप्रमुख जुना बस्नेतले गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी समयमै पुल निर्माण हुनुपर्नेमा जोड दिए। वडा न। १ का वडाध्यक्ष सानुकाजी कायस्थले उक्त पुलका लागि कूल रु एक करोड २६ लाख १८ हजार बजेट लागत अनुमान गरिएकामा भ्याटबाहेक रु ७० लाख ४७ हजारको लागतमा आठ मिटर लम्बाइ र १०।५ मिटर चौडाइको पुल निर्माणको ठेक्का भएको जानकारी दिए । 
    
वडा नं ४ का वडाध्यक्ष उत्तम थापा, इञ्जिनीयर रुद्रप्रसाद काफ्ले, वडा सदस्य प्रदीप कार्की लगायतले चालू आवभित्रै पुल निर्माण सम्पन्न भएपछि गोदावरी–भक्तपुर आवतजावतमा निकै छोटो बाटो हुने बताए । -रासस

salt training

कमेन्ट गर्नुहोस्