
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारका लागि अस्पतालमा रहेको र फर्केपछि निर्णय कार्यान्वयन हुने प्रचण्डको भनाइ छ।
नेकपा चितवनको सचिवालय बैठकमा प्रचण्डले भने, ‘हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौँ, त्यो कार्यान्वयन हुनेछ त्यसमा दुई मत हुँदैन।’
केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न पनि उनले अनुरोध गरे।
‘माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ,’ उनले भने।