
‘फागु पूर्णिमाको दिन पोखराको लेकसाइडमा खुट्टा टेक्ने ठाउँ हुन्थेन । विदेशी पर्यटक र आन्तरिक पर्यटक आपसमा होली खेल्दै रमाइलो गर्थे । होली खेल्नेको भीडले लेकसाइड छिर्ने शहीद चोकदेखि हल्लन चोकसम्म नै सवारी जान रोक लगाइन्थ्यो,’ पोखराको बाराही चोकस्थित होटल ल्याण्डमार्कमा कार्यरत एकाउन्टेन्ट छविलाल पाण्डेले अघिल्ला वर्षको होलीको स्मरण गर्दै भने ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले नेपालमा पनि जोखिम कम गर्न यसपालिको होली उत्सवको रुपमा नमनाउन सर्वसाधारणमा आग्रह गरेपछि प्रमुख पर्यटकीय क्षेत्र पोखरा सुनसान बनेको छ ।
होली पर्वको दिन सोमवार पोखराको मुख्य पर्यटकीय बजार लेकसाइडसहित न्यूरोड, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, अमरसिंहचोक, राष्ट्र बैंकचोक, बिरौटा, छोरेपाटन, लामाचौर, बगर, मालेपाटन, लेखनाथ लगायतका क्षेत्र सुनसान प्रायः छन् ।
घरपरिवारका सदस्यसँग आपसमा होली खेलेर निधारमा रंग पोतेका केही सर्वसाधारण फाट्टफुट्ट रुपमा बाहिर निस्केको देखिन्छ । विगतमा जस्तो मोटरसाइकलमा होलीको लोला बोकेर हुइँकिने युवाको ताँती यतिखेर देख्न पाइँदैन ।
सवारीसाधन पातलो संख्यामा भएकाले ट्राफिक जाम कहीँकतै छैन । कोरोनाकै कारण सार्वजनिक सभा समारोहसहित होली विशेष कार्यक्रम स्थगित भएका छन् । बजारका मुख्य चोक सुनसान छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पनि यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले फागु पर्वमा भीडभाड नगरी सजग रहँदै मनाउन प्रशासनले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले सतर्क रहन भनेको छ । २–४ जना साथीभाइ आपसमा मिलेर सौहार्दपूर्ण रुपमा मनाउन सकिएपनि धेरै मानिसको भीडभाड र होहल्ला गरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरिएको र सो विपरीत कार्य भएको पाइए कारबाही गर्न बाध्य हुने प्रजिअ रमेशकुमार केसीले बताए ।
होलीका नाममा कसैको इच्छाविपरीत रंग लगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता कार्य गरेमा कारबाही हुने उनले बताए । होलीमा सम्भावित दुर्घटना तथा क्षति कम गर्न शहरका मुख्य चोकमा सुरक्षाकर्मी समेत तैनाथ गरिएको छ ।