०६ साउन २०८३, बुधबार

अफगानिस्तानमा राजनीतिक संकट? दुई नेताले लिए राष्ट्रपति पदको शपथ

फागुन २६, २०७६
अफगानिस्तानमा राजनीतिक संकट? दुई नेताले लिए राष्ट्रपति पदको शपथ
असरफ घानी ।

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्।

सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन्। घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गगरेका थिए।
समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय खालिल्जाद, अमेरिकी कार्यवाहक राजदूत रोस विल्सन, अमेरिकी, नाटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए।

अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्।

घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए। गत सेप्टेम्बरमा निर्वाचन भए पनि परिणाम घोषणा हुन नसकेपछि उनले पाँच महिनापछि विजयी भएको घोषणा गरेका हुन्। 

गत डिसेम्बरमा घोषणा भएको प्रारम्भिक नतिजाअनुसार घानी झिनो मतअन्तरले अगाडि रहेका थिए।

दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ। सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटनका घटना पनि भएका छन्।

लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकु र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो। तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन। अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो। 

वार्ता सुरू गर्न अफगान तालिवान समूहले कैदीबन्दीको आदान प्रदान गर्नुपर्ने माग राखेको छ। यसमा सरकारले पाँच हजार तालिवान लडाकुलाई रिहा गर्ने र वदलामा तालिवान समूहले एक हजार अफगानी सैन्य अधिकारीलाई रिहा गर्ने शर्त रहेको छ। राष्ट्रपति घानीले शर्तसहितको वार्ता र तालिवानको कैदी आदान प्रदानको मुद्दालाई अस्वीकार गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्