
काठमाडौं, ६ वैशाख — अमेरिकाको युद्धक जहाजहरू उत्तर कोरियातिर अघि बढिरहेको नभई विपरीत दिशातिर गएको कुरा पत्ता लागेको छ ।

अमेरिकाको जलसेनाले कार्ल भिन्सन स्ट्राइक ग्रुप कोरियाली प्रायद्वीपतिर बढेको बताएको थियो । प्योङयाङको आणविक महत्त्वाकांक्षा बढ्दै जाँदा जहाज तैनाथ गरिएको बताइएको थियो ।
अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जहाजको समूह (अर्माडा) नै कोरियातर्फ पठाइएको बताएका थिए ।
तर स्ट्राइक ग्रुप सप्ताहान्तमा कोरियाली प्रायद्वीपबाट टाढा गएर सुन्दा स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गएको छ ।
अमेरिकाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई तर्साउनका लागि मात्र जहाज तैनाथीको हल्ला फिँजाएको हो वा योजना नै परिवर्तन भएको हो वा सञ्चारमा गडबडी भएको हो, प्रस्ट हुन सकेको छैन ।
यसैबीच उत्तर कोरियाले संस्थापक नेताको जन्मजयन्तीको अवसरमा गरेको क्षेप्यास्त्र परीक्षण विफल भएको थियो ।
बीबीसीबाट