०९ साउन २०८३, शनिबार
कोरोनाको त्रास

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदार क्वारेन्टाइनमा

फागुन २७, २०७६
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदार क्वारेन्टाइनमा
फाइल फोटो

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरस (कोभिड– १९) संक्रमणको पूर्व सचेतनाका लागि उनीहरूलाई विमानस्थलमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको विमानस्थल आयोजना प्रमुख विनेशकुमार मुनकर्मीले जानकारी दिए । 

चीनमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेर गत फागुन २१ देखि २३ सम्म आएका उनीहरूलाई अबको १० दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरू आएको ४ दिन भइसकेको छ ।

यात्राका क्रममा कहीँ कतै संक्रमित भएको हुनसक्ने आशंकामा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो दैनिक ३ पटकसम्म नापिने र १ सय दशमलव ४ डिग्रीभन्दा बढी ज्वरो आएको देखिएमा अस्पताल लगिने विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख मुनकर्मीका अनुसार हालसम्म कसैलाई पनि उच्च ज्वरो देखिएको छैन ।

यसअघि आएकामध्ये ३६ जना चिनियाँ नागरिक क्वारेन्टाइनमा बसेर संक्रमण नभएको पाइएपछि काममा फर्किसकेका छन् ।

उनीहरू चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका थिए । त्यसैक्रममा चीनमा कोरोना संक्रमण फैलिएपछि क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करीब ५५ प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थलको सडक, ड्रेन, पार्किङ लगायतको काम अहिले जारी छ ।

विमानस्थल निर्माणमा १ सय ९० जना चिनियाँ र २ सय ८० जना नेपाली कामदार कार्यरत छन् । 

कोरोना भाइरसका कारण केही आवश्यक सामग्री भित्र्याउन ठाउँ–ठाउँमा क्वारेन्टाइनमा बस्नुपर्ने समस्याका कारण असहज भएकाले विदेश सिधै विमानमार्फत ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पोखरामा पूर्व तयारीस्वरूप हाल यस क्षेत्रका विभिन्न अस्पतालमा गरी ८० वटा आइसोलेसन बेड तयार पारिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कोरोना भाइरस रोकथाम र नियन्त्रण प्रदेशस्तरीय निर्देशन समिति संयोजक पृथ्वीसुब्बा गुरुङले यस क्षेत्रका अस्पतालमा कम्तीमा ५ चिकित्सकसहित ५ बेड तयार राख्न निर्देशन समेत दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्