
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको भए पनि परिवारको आग्रहमा केही दिन अस्पतालमै राखिने भएको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकसहित शिक्षण अस्पतालमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्स प्रा.डा.दिव्या सिंह शाहले भनिन्, 'अपेक्षाकृत सुधारको लक्षण देखिएको भए पनि जबसम्म चिकित्सकले कम्फर्टेवल फिल गर्दैन त्यो बेलासम्म डिस्चार्ज गर्न सकिन्न ।'
शिक्षण अस्पताल प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख प्रा.डा.शाहले भनिन्, 'हुन त उहाँलाई डिस्चार्ज गर्दा पनि हुन्छ । निवासमा पनि सङ्क्रमण प्रतिरोधी संरचनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।'
उनले पहिलो एक महिना बढी सावधानी अपनाउनु पर्ने भएकाले प्रधानमन्त्री निवासमा त्यसको तयारी पूरा भएपछि छिट्टै प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने बताइन् । उनले थपिन्, 'प्रधानमन्त्रीको परिवारबाट पनि एक दुई दिन अस्पतालमा नै राखिएमा यहाँ तयारी गर्नु सकिन्थ्यो भन्ने कुरा आयो । प्रधानमन्त्री पनि डिस्चार्ज भएर जान चाहनुहुन्छ । निवासमा तयारी पूरा भइसकेपछि उहाँलाई पठाउँछौ ।' उनले दोस्रो प्रत्यारोपणमा औषधिको डोज बढि दिइने भएकाले सङ्क्रमणको सम्भावना समेत बढी रहने बताइन्। उनले भनिन्, 'सम्भावित सङ्क्रमणवारे उहाँहरु (प्रधानमन्त्री तथा परिवार) सचेत हुनुहुन्छ । उनलाई भीडभाडमा जान सल्लाह दिदैनौ ।'
उनले दैनिक कार्य सचिवालयबाट प्रधानमन्त्रीले गर्न सक्नुहुने तर रुघाखोकी र अरु सङक्रमण भएकाबाट जोगिनुपर्ने बताइन्। उनले भनिन्, 'अलिकति दुरीमा रहेर काम गर्न सक्नुहुन्छ । छ महिनापछि साधारण मानिस जसरी सक्रिय दैनिकी बनाउन सक्नुहुन्छ ।' उनले मिर्गौला प्रत्यारोपणको लागि उमेर नभई शरिरको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषय महत्वपूर्ण चर्चा गर्दै भन्नुभयो, 'प्रधानमन्त्रीको मुटुलगायत अंग सबै राम्रो छ । त्यो भएर यो मिर्गौलाले राम्रो काम गर्छ । त्यति समस्या आउने देख्दैनौ ।' उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आकस्मिक नभई पूर्वतयारीसाथ भएको स्पष्ट पारिन् ।
उनले भनिन्, 'प्रधानमन्त्रीको मिर्गौलाले काम कम गर्न थालेदेखि नै प्रत्यारोपणको सल्लाह दिइएको हो । डायलसिसभन्दा प्रत्यारोपणमा विरामीको स्वास्थ्य राम्रो हुन्छ ।' उनले मिर्गौला प्रत्यारोपण कति सफल हुन्छ भनेर गरिएको प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकारात्मक देखिएपछि पाँच छ जना मिर्गौला दाताको परीक्षण सुरु गरिएको जानकारी दिइन्। उनले भनिन्, 'एक महिना अगाडि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने तय भएको थियो । प्रधानमन्त्रीसँग प्रा.डा.प्रेमराज ज्ञवालीलाई पनि भेटाएँ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने विषयमा अस्पतालका कार्यकारी निर्देशकलगायत व्यवस्थापन पक्षलाई जानकारी गराएँ ।'
सञ्चारकर्मीका जिज्ञासामा उनले मिर्गौला दान गर्ने र नगर्नेबीचको जीवनका दैनिकीमा केही फरक नपर्ने बताइन्। उनले भनिन्, 'दाताको सबै स्वास्थ्य अध्ययन गरेर मात्र मिर्गौला लिन्छौ । अहिले इन्जोय गरिरहेको लाइफस्टाइलमा केही फरक पर्दैन भनेर दुई सय प्रतिशत ढुक्क भएपछि मात्र मिर्गौला लिइन्छ ।' उनले मिर्गौला दानमा नागरिकले पूरा गर्नुपर्ने प्रक्रियाअनुसार नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको स्पष्ट पारिन् ।
पत्रकार सम्मेलनमा विभागीय प्रमुख प्रा.डा.उत्तरकुमार शर्माले प्रत्यारोपण एकजना व्यक्तिले नभई समूहगत कार्य भएको स्पष्ट पार्दै ‘ट्रान्सप्लान्टेशन’ को विषयमा कुनै ‘कन्ट्रोभर्सी’ नआवस् भने।
उनले भने, 'मिर्गौला निकाल्न र प्रत्यारोपणका लागि एकजनाले गरेर हुने विषय होइन । टिम चाहिन्छ । यसमा सबैको भूमिका महत्वपूर्ण हुन्छ । प्रत्येकको एक्टिभ रोल हुन्छ ।'
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीले समेत आफ्नो अनुभव सुनाएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।