१४ असार २०८३, आइतबार

अमेरिकामा कोरोनाभाइरसले मच्चायो आतंक

फागुन २८, २०७६
अमेरिकामा कोरोनाभाइरसले मच्चायो आतंक

पानीका बोतल धमाधम गायब भइरहेका छन् । पसलबाहिर ग्राहकहरूको लामो लाइन छ । ह्यान्ड स्यानिटाइजर र ट्वाइलेट पेपर जस्ता कुराको कमी छ । खाद्यवस्तुहरू लगायत अत्यावश्यक सामान मानिसहरू जम्मा गरिरहेका छन् ।

अमेरिकाका अनेकौं शहरमा अहिले यस्तै दृश्य देख्न पाइन्छ । 

ठूलो स्टोरका ट्रलीहरू पूरै खाली देखिन्छन् । स्टोर बाहिर मास्क लगाएर उभिएका सुरक्षाकर्मीहरूले ट्रलीको ह्यान्डल सफा गरिरहेका छन् । 

अमेरिकामा कोरोनाका कारण २६ जनाको मृत्यु भइसकेको छ र ६५० भन्दा बढी केस देखिएका छन् । अमेरिकामा धेरै मानिस भाइरसको डरले घरबाट निस्कनै डराइरहेका छन् । 

क्यालिफोर्नियाको प्रविधि कम्पनीमा काम गर्ने एक भारतीय राज देसाई भन्छन्, ‘मानिसहरूलाई इटलीमा जस्तै अमेरिकामा पनि लकडाउन गरिने हो कि भनी डर लागेको छ ।’

उनको भनाइ छ, ‘मानिसहरू अत्यावश्यक सामान जुटाइरहेका छन् । हामीहरू पनि आफ्ना परिवारका सदस्याका लागि स्यानिटाइजर जम्मा गरिरहेका छौं । बजारमा स्यानिटाइजरको कमी छ ।’

एउटा स्टोरमा हंगामा मच्चिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । त्यहाँ ट्वाइलेट पेपर, स्यानिटाइजर र पानी किन्न गएका मानिसले हंगामा मच्चाएका थिए । 

चुनावी वर्षमा कोरोनाभाइरसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अप्ठ्यारो पारेको छ । उनले आर्थिक क्षेत्रमा हासिल गरेका उपलब्धिलाई निर्वाचन अभियानमा महत्त्वपूर्ण रूपमा पेश गर्ने गरेका छन् । 

कोरोनाका कारण अमेरिकी नागरिकहरूको मृत्युपछि स्टक मार्केटमा पनि असर परेको छ र शेयर बजारमा गिरावट आएको छ । 

प्रशासनले शुरूतिर त कोरोना रोक्न लापरवाही गरेको थियो तर अहिले चाहिँ रोकथाममा सम्पूर्ण प्रयास गरेको देखाइरहेको छ । 

भाइरसको औषधि विकसित गर्न र स्थिति नियन्त्रण गर्नका लागि आठ अर्ब डलरको आपतकालीन फन्ड उपयोग गरिरहेको छ । 

ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र ट्रम्प प्रशासनका अन्य व्यक्ति अहिले कोरोनासँग लडिरहेका मानिसको अप्डेट दिइरहेका छन् । 

भाइरस रोक्नका लागि वाशिङटन, क्यालिफोर्निया, फ्लोरिडा र न्युयोर्क जस्ता राज्यमा संकटकाल घोषणा गरिएको छ । 

संकटकाल घोषणा गरिएपछि राज्यहरूले अनेकौं अधिकार पाउँछन् र विभिन्न योजनाहरू लागू गराउन सक्छन् । 

राजधानी वाशिङटन डीसी र वरपरका क्षेत्रमा कोरोनाभाइरस प्रभावित मानिस भेटिएका छन् । कांग्रेस सदस्य समेतले आफूलाई आइसोलेसनमा राखेका छन् । 

अमेरिकामा स्वास्थ्य परीक्षण गर्न महंगो हुनाले कतिजनामा भाइरस फैलिएको छ भन्ने समेत पत्ता लाग्न सकेको छैन । 

कोरोनाका कारण अर्थव्यवस्थामा पुगेको हानिको अन्दाज लगाइँदैछ । तर इटली वा चीनमा जस्तो लकडाउनका विषयमा कुनै कुराकानी भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्