
बैतडीमा चितुवाले मच्चाइरहेको आतंक समाधान गर्न माग गर्दै वनमन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराइएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले वन तथा वातावरण मन्त्री बस्नेतको ध्यानाकर्षण गराएको हो ।
टोलीमा बैतडीका संघीय सांसद दामोदर भण्डारी, प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट, ओमबिक्रम भाट, बैतडी जिल्ला नेकपा कार्यालय सदस्य रमिल बम, कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी लगायतको उपस्थिति थियो ।
टोलीसँगको भेटमा मन्त्री बस्नेतले चितुवाको पहिचानका लागि तत्काल प्राविधिक टोली पठाउने प्रतिबद्धता जनाएका छन् । प्राविधिक टोलीले बैतडीमा आतंक मच्चाउने एउटा मात्रै चितुवा छ कि अन्य पनि छन् भनेर पहिचान गर्ने र त्यसपछि चितुवालाई नियन्त्रणमा लिएर व्यवस्थापन कसरी गर्ने विषयमा अध्ययन गर्ने बताइएको छ ।
बैतडीको मेलौली नगरपालिका–९ मा मंगलवार मात्रै ९ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउँदलाई आक्रमण गरी घाइते बनाएको थियो । २०६८ सालयता बैतडीमा नरभक्षी चितुवाले २५ जनाको ज्यान लिएको छ ।