
दाङ प्रहरीले बालविवाह रोकेको छ। र, बालविवाह गराएको आरोपमा घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँका केहीलाई पक्राउ समेत गरेको छ।
पक्राउपर्नेमा बेहुला घोराही उपमहानगरपालिका– १३ सेवारका ३० वर्षीय कृष्णबहादुर केसी, घोराही- १४ ढोडेनी बस्ने दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारी छन्। उक्त गाउँमा बालविवाह भइरहेको सूचना पाएको प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ परेकामथि मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ११ को दफा १७३ बालविवाह गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार दुलहीलाई आमाको जिम्मा लगाइएको छ।