०२ असार २०८३, मंगलबार

एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

फागुन २९, २०७६
एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ । 

थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।

एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ । डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् । त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो ।

‘मट्टीतेल मिसिएको पुष्टि भएपछि चारवटै डिजेल ट्यांकरलाई अहिले थानकोट डिपोको हाताभित्र राखिएको छ, तेल खन्याइएको छैन,’ स्रोतले भन्यो । थानकोट डिपोप्रमुख विनीतमणि उपाध्यायले चारवटै ट्र्यांकरलाई डिपोको लोडिङ क्षेत्रको कुनामा लगेर राखेका छन् । उनले डिजेल बोकेको ट्र्यांकरमा मट्टीतेल मिसिएको विवरण केन्द्रीय कार्यालयमा जानकारी गराइसकेका छन् ।

चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मट्टीतेल मिसिएको प्रारम्भिक परीक्षणमा फेला परेपछि थानकोट डिपोले थप परीक्षणका लागि सिनामंगलस्थित निगमकै केन्द्रीय प्रयोगशालामा तेल पठाएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । अहिले थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा ताल्चासँगै अर्को सिल पनि लगाउने गरिएको छ । 

१९ माघमा थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरको ताल्चासमेत खोल्न मिल्ने मास्टर की सिनामंगल डिपोबाट हराएको घटना बाहिरिएको थियो । त्यसपछि ट्र्यांकरमा ताल्चा र सिल लगाउन थालिएको हो । सिल तोडेर तेल चोरी गर्न नमिल्ने निगमको प्रवक्ता वीरेन्द्र गोइतले बताएका थिए । तर, ताल्चा र सिल भएकै अवस्थामा ठूलो परिमाणमा तेल चोरी भएको छ । आधुनिक लकिङ सिस्टमले समेत चुहावट नियन्त्रण गर्न नसकेको घटनाले प्रस्ट पारेको छ । 

किन मिसाइन्छ डिजेलमा मट्टीतेल ?

स्रोतका अनुसार भारतमा कोटा र प्रचलित दर गरेर दुई प्रकारका मट्टीतेल उपलब्ध छन् । डिजेलभन्दा दुवै प्रकारको मट्टीतेल धेरै सस्तो पर्छ । आइओसीले कोटाको मट्टीतेल मूल्य १३.६० देखि ३८.५८ भारुसम्म निर्धारण गरेको छ । मुनाफा जोडिएको मट्टीतेलको मूल्य दिल्लीमा ५८.८१ भारु छ । तर, डिजेलको मूल्य भने दिल्लीमा ६३.०१ भारु निर्धारण गरिएको छ । कोटामा पाइने मट्टीतेलभन्दा डिजेलको मूल्य कम्तीमा दोब्बर छ ।

ट्यांकरचालकले भारतमा कोटाको मट्टीतेल बिक्री गर्ने डिलरसँग सम्पर्क बढाएका हुन्छन् । आइओसीको डिपोआसपासमै कोटाका मट्टीतेल बिक्रीकेन्द्र पाइन्छ । त्यस्तै, कतिपय भारतीय पेट्रोल पम्पले ट्यांकरचालककै लागि भनेर कोटाको मट्टीतेल राखिदिएका हुन्छन् । ट्यांकरचालकहरूले सकेसम्म कोटाकै मट्टीतेल उठाउने गरेका छन् । त्यसपछि कोटाको मट्टीतेल जति पाइन्छ, त्यति नै बराबरको डिजेल ट्यांकरबाट निकालेर मट्टीतेल हालिदिन्छन् । यसरी सस्तो मट्टीतेल ट्यांकरमा हालेर चालकले महँगो डिजेल झिक्छन् र भारत तथा नेपालका सीमावर्ती क्षेत्रमा रहेका पम्पमा बिक्री गर्छन् । 

चोरी गरेर बिक्री गरेको मट्टीतेलको पैसा चालकले ढुवानी व्यवसायी र कर्मचारीलाई समेत बुझाउने गरेका छन् । तीनै पक्षको मिलेमतोमा चोरी हुने भएकाले दोषी कारबाहीबाट जोगिने गरेका छन् । 

मास्टर की हराएलगत्तै एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

हराएको मास्टर कीले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोमा डिजेल र पेट्रोल ओसार्ने दुई सयभन्दा बढी ट्यांकरको ताल्चा खोल्न मिल्छ । मास्टर की हराएपछि थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा चोरीको घटना बढेका छन् ।

एक व्यवसायीका अनुसार ८ फागुनमा अमलेखगन्जबाट थानकोट डिपोमा २० हजार लिटर डिजेल बोकेर आएको एक ट्यांकरमा दुई सय ५२ लिटर तेल गायब भएको भेटिएको थियो । तापक्रमका कारण तेल घटबढ हुने भएकाले निगमले निश्चित परिमाण नोक्सानी हुने लक्ष्य राखेको छ । तोकिएको लक्ष्य काटेर पनि सो ट्यांकरमा दुई सय ५२ लिटर कम तेल भेटिएको हो । 

त्यस्तै, २२ फागुनमा बरौनीबाट थानकोट डिपोका लागि डिजेल बोकेर आएको ना.४ख २५०२ नम्बरको ट्यांकरमा दुई सय ४७ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटिएको थियो । यी दुवै ट्यांकर एभरेस्ट फ्युल ढुवानी सेवाको नाममा दर्ता छन् । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो । बरौनीबाट डिजेल बोकेर २४ फागुनमा थानकोट डिपोमा आइपुगेको ना.४ख ३२५१ नम्बरको ट्यांकरमा पनि ९८ लिटर कम (लक्षित नोक्सानी कटाएर) परिमाण भेटियो ।

तोकिएको नोक्सानी दरभन्दा ५० लिटर कम तेल भेटिए बजार मूल्यअनुसार र ५० लिटरभन्दा बढी भए बजार मूल्यको दोब्बर जरिवाना तिराउने व्यवस्था छ । यसरी दोब्बर रकमका दरले जरिवाना तिर्न नमाने त्यस्ता ट्यांकरलाई अर्कोपटक तेल किन्न जाने अनुमति (पिडिओ) दिन नहुने निगमको विनियमावलीमा व्यवस्था छ । यही व्यवस्थाअनुसार ना.४ख ३२५१ नम्बरको ट्यांकरले दोब्बर जरिवाना तिर्न नमानेपछि थानकोट डिपोले पिडिओ रोक्का गरेको छ । यो ट्यांकर व्यवसायी रोशन रौनियारको नाममा छ । उनले ट्यांकर अर्का व्यवसायी मुन्ना यादवलाई बेचे पनि नामसारी भइसकेको छैन । 

साना व्यवसायीको ट्यांकरलाई पिडिओ रोक्का गरेको थानकोट डिपोले ढुवानी व्यवसायी महासंघका महासचिव अर्यालको ट्यांकरलाई भने कारबाही गरेको छैन । ‘महासचिव अर्यालको दुवै ट्यांकरले जरिवाना नतिरी पिडिओ लिएर तेल ओसार्ने अनुमति पाइरहेका छन्, यो गलत भयो,’ स्रोतले भन्यो । कारबाही गर्नुपर्ने अर्यालको ट्यांकरलाई लेखा प्रमुख शिशिर सुवेदीले मिलेमतोमा पिडिओ जारी गर्दै आएका छन् । ढुवानी व्यवसायीले भाडाबापत पाउने रकमबाट ०.५ देखि एक प्रतिशत कमिसन लेखा प्रमुख सुवेदीकै माध्यमबाट डिपोमा बुझाउँदै आएका छन् ।

मट्टीतेल मिसिएको डिजेलले इन्जिनको आयु घटाउँछ 

पेट्रोलियम गुणस्तरसम्बन्धी विज्ञहरूका अनुसार डिजेलमा मट्टीतेल सजिलै मिसिन्छ । तर, मट्टीतेलको चिप्लोपना कम हुन्छ । जसकारण मट्टीतेल मिसिएको डिजेल सवारीसाधन तथा औद्योगिक मेसिनरीमा प्रयोग गर्दा इन्जिनमा चाँडो समस्या हुन्छ । 

‘चिप्लोपना कम भएको मट्टीतेल मिसिएको डिजेल इन्जिनमा जाँदा तुलनात्मक रूपमा बढी घर्षण हुन्छ, यसबाट धुवाँ पनि बढी निस्कन्छ भने इन्जिनको आयु पनि घट्छ,’ एक विज्ञले भने । चोरी गरेको मट्टीतेलको ठूलो परिमाण पेट्रोल पम्पले नै किन्ने भएकाले सवारीसाधनमा मिसावट भएको डिजेल प्रयोगको सम्भावना बढी हुन्छ । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्