०२ असार २०८३, मंगलबार

हिजो दिनभर : कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा, बुटवलमा एक युवा अस्पताल भर्ना

फागुन ३०, २०७६
हिजो दिनभर : कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा, बुटवलमा एक युवा अस्पताल भर्ना

बुटवलमा कोरोनाको आशंका : एक युवा अस्पताल भर्ना


कोरोनाको आशंकामा बुटवलमा एक युवा अस्पतालमा भर्ना भएका छन् । चेकजाँचको क्रममा अस्पताल आएका उनलाई कारोनाको आशंकामा चिकित्सकले लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेका हुन ।

उनको स्वास्थ्यमा निमोनिया देखिएको र लक्षण सामान्यभन्दा फरक खालको देखिएपछि इन्भेटिगेशनका लागि आइसोलेसन कक्षमा भर्ना गरिएको जनाइएको छ । २१ बर्षीय यूवा बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

बुटवलको एक कोरियन भाषा पढाउने इनिस्टिच्यूटमा कोरिया भाषा पढिरहेका उनको कोरियन नागरिकसँग सम्पर्क रहेकाले कोरोनाको आंशका गरिएको हो ।

ति प्रशिक्षक १५ दिन अघि नेपाल आएका थिए । संक्रमण भए नभएको पुष्टि गर्न नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउन लागिएको अस्पतालको भनाइ छ ।

पठाएको तीन दिनमा मात्र रिर्पोट आउने अस्पताल स्रोतको भनाई छ । कोरोनाको त्रास बढदै गएपछी प्रदेश सरकारले संक्रमित बिरामीको उपचार गर्नका लागि प्रदेश ५ का अस्पतालहरुमा आइसोलेसन बेड तयार पारिएको छ ।

१० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसोलेसन बेडका रूपमा छुट्याइएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । लुम्बिनीमा डा. सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ ।

कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा 

कोरोनाभाइरस संक्रमणको आशंकामा ६ जनालाई राजधानीका २ अस्पतालमा राखिएको सरकारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको आशंकामा ४ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनालाई पाटन अस्पतालमा राखिएको जानकारी गराएका हुन् ।

उनीहरूलाई आइसोलेसन वार्डमा राखेर परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए ।

हालसम्म नेपालमा १  जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको छ । ती व्यक्ति पनि निको भइसकेको बताइएको छ ।

४ सय ५० जनामा गरिएको परीक्षणमा ती १ जनाबाहेक अन्यमा संक्रमण नपाइएको सरकारले जनाएको छ ।

नेकपा सांसदको गुनासो– घूस लिन मिल्ने गरी कानून बन्न थाले 

राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कोमल वलीले पुरानो कानूनलाई समसामयिक  व्यवस्थासहित परिमार्जन गरिनुपर्ने बताइन् । 

सांसद प्रकाश पन्थले अध्यागमन विधेयक, २०४९ किन खारेज गर्नु परेको भन्ने कुरा विधेयकमा आएको छैन, भने ।

विधेयकमा दण्ड सजाय बढाइएकाले विदेशी पर्यटक आउन पनि प्रभाव पार्छ कि भन्नेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

सांसद रामनारायण बिडारीले ८० प्रतिशत कानून कार्यपालिकाले बनाउन थाल्नु र २० प्रतिशतमात्र कानून संसद्ले बनाउन थाल्नुले व्यवस्थाप्रति नै निराशा देखाउन खोजेको बताए ।

घूस लिन मिल्ने गरी कानून बन्न थालेको उनको भनाइ थियो ।  “यो विधेयक ल्याउनु पर्नाको कारण के हो, त्यो विषय चार लाइनमा लेखेर हुन्छ ?”, विधेयक ल्याउनाको कारण स्पष्ट नभएको उल्लेख गर्दै उनले भने । 

सांसद अनिता देवकोटाले अध्यागमनलाई सङ्घीय सरकार नियन्त्रणमा राख्दा प्रदेश र स्थानीय तहमा पर्ने प्रभावका  केही विषय विधेयकमा आउन नसकेको बताइन् ।

सांसद डा. विमला पौडेलले तीनमहिने पर्यटक प्रवेशाज्ञामा आई परामर्शदाता कम्पनीमा काम गर्ने विदेशीको सङ्ख्या धेरै रहेकाले कसरी नियमन गर्ने भन्ने विषय विधेयकमा व्यवस्थित गरिनुपर्नेमा जोड दिइन् ।

छलफलमा उठेका सवालको जवाफ दिँदै गृहमन्त्री थापाले वर्षमा २५ लाख मानिस आउजाउ गर्ने गरेकाले व्यवस्थित गर्न विधेयक ल्याइएको बताए ।

'विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विधेयक परिमार्जन गरेर ल्याइएको छ, दफावार छलफलमा अझै परिमार्जन गरी त्रुटि सच्याएर पूर्ण हुने विश्वास छ', उनले भने । रासस

शेयर बजारमा फेरि पहिरो, नेप्से ४६ अंकले गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।

मंगलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै ४६ अंकले घटेको छ ।  

नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ ।

कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।

बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बीमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोवार भएको छ ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नवील बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एविएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल व्यालेन्स फण्ड १.९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले १.७० प्रतिशतले कमाएका छन्।

त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका शेयरधनीले ७.१४ प्रतिशतले गुमाए ।

कोरोना फैलिएपछि चीनतर्फबाट सगरमाथा चढ्न प्रतिबन्ध

चीनले आफ्नो भूभागबाट सगरमाथा आरोहण गर्न प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस फैलिँदै गएपछि चीनले यस्तो प्रतिबन्ध लगाएको हो । 

एबीसी न्युजका अनुसार, उत्तरी मोहडाबाट सगरमाथा चढ्नका लागि अनुमति दिने चाइना तिब्बत माउन्टेनियरिङ एसोसिएसनले प्रतिबन्धको पुष्टि गरेको छ । 

एल्पेनग्लो एक्सपिडिसनका सीईओ एड्रियन ब्यालिंगरले चीनको कदम सही भएको बताए किनकि सगरमाथाको आधारशिविरमा कोरोना फैलिएमा कसैलाई पनि बचाउन सकिन्न । 

सगरमाथा चढ्दा सास फुल्ने र फोक्सोमा दबाब पर्ने एड्रियनको भनाइ छ । कसैलाई कोरोनाको संक्रमण भएमा आरोहण गर्नु मर्नै जानु जस्तो हुने उनले बताए । 

चीनले आरोहणमा प्रतिबनध लगाएपनि नेपालले चाहिँ अहिलेसम्म यस्तो प्रतिबन्त्र लगाइसकेको छैन । 

यस सीजनमा जम्मा १५० जनाले सगरमाथा चढ्नका लागि अनुमति मागेका छन् । तर कोरोनाभाइरस लगातार फैलिएकाले यस वर्षमा आरोहणै नहुने सम्भावना पनि छ ।

विद्या भट्टराईको प्रस्ताव– पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको ब्याज घटाऔं, कर छूट दिऊँ ! 

नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणबाट नेपालको पर्यटन उद्योगलाई धराशायी हुन नदिन बैंकको ब्याजदर घटाउने, पुनःकर्जाको व्यवस्था गर्ने र बैंकको किस्तालाई केही पर सार्ने निर्णय गर्न माग गरेकी छन् । 

कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद भट्टराईले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कोरोनाको असरले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिन लागेको भन्दै पर्यटन उद्योगलाई धराशायी बन्नबाट रोक्न बैंकको ब्याजदर घटाउने लगायतका पहल गर्नुपर्ने बताएकी हुन् । 

‘कोरोना भाइरसका कराण नेपालीहरूको बीचमा सन्त्रास निम्तिरहेको देखेका छांै, खासगरी कोरोना भाइरसले सामाजिक जनजीवन प्रभावित बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष/परोक्ष नकारात्मक असर पर्ने सम्भावना देखेका छौं,’ उनले भनिन्, ‘कोरोनाका कराण नेपालको सम्भावना बोकेको पर्यटन क्षेत्र प्रत्यक्ष शिकार बन्न पुगेको छ, खर्बौं लगानी भएको पर्यटन उद्योग धराशायी हुने जोखिम बढेको छ ।’

देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा र विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटन उद्योगलाई धराशायी बन्न नदिन उनले बैंकको ब्याजदर घटाउन तथा होटलले राज्यलाई बुझाइरहेको करमा छूट दिन माग गरिन् ।

‘खर्बौं लगानी रहेको पर्यटन क्षेत्रको अकुपेन्सी अहिले १० र १५ प्रतिशतमा झरेको छ । बैंकबाट ऋण लिएर स्थानीय तहमा पर्यटनको पूर्वाधार बनाएको र राष्ट्रिय पूँजी निर्माणमा लगानी गरिरहेको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले उच्च ब्याजदर र मासिक किस्ता तिर्न नसक्ने अवस्था आएकाले बैंकको ब्याजदर घटाउन, पुनःकर्जाको व्यवस्था गर्न र एक वर्षसम्मको किस्ता पछाडि धकेल्न कर्जा पुनःताजगी गरेर केही पर सार्न आग्रह गर्छु,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रका कर्मचारी पलायन हुन नदिन होटलहरूले नेपाल सरकारलाई तिर्ने कर, राजस्व र स्थानीय करमा ५० प्रतिशत सहुलीयत प्रदान गर्न सकियो भने केही राहत पुग्न सक्थ्यो कि ?’

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका लेखापरीक्षक र नासु घूस रकमसहित पक्राउ 

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद आचार्य घूससहित पक्राउ परेका छन् ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिएबापत लिएको घूस ५ हजार रुपैयाँ लेनदेन गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

'कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा डोरप्रसाद पन्थी र लेखा परीक्षक रामचन्द्र श्रेष्ठबीच रु. ५,०००।–(पाँच हजार) लिने/दिने क्रममा उक्त रकमसहित निजहरू दुवैलाई कार्यालय परिसरबाट मिति २०७६।११।२८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,' अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्