
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएपछि पनि चिकित्सकहरूको नियमित निगरानीमा रहनेछन् ।
उनको निजी चिकित्सकसमेत रहेका डाक्टर दिव्यासिंह शाहले अस्पतालको तर्फबाट एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली नियमित चिकित्सकको निगरानीमा रहेको बताएकी हुन् ।
‘डिस्चार्जपछि समय-समयमा नियमित फलोअपमा रहनुपर्ने हुन्छ,’ डाक्टर शाहले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘साथै उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ । उहाँले यसपश्चात आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कामहरू गर्न सक्नुहुनेछ ।’
प्रधानमन्त्रीको निगरानीका लागि आवश्यक चिकित्सक र नर्सहरू बालुवाटारमै उपलब्ध हुने अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले बताए ।
गत साताको सोमवार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार प्रत्यारोपणको शल्यक्रिया गरिएको थियो । १२ दिनको अस्पताल बसाईंपछि ओलीलाई आज डिस्चार्ज गरिएको हो ।