२७ असार २०८३, शनिबार

बेलायतमा चुनाव घोषणा : अनुदारवादी युद्धप्रिय नेतृत्व छानिने सम्भावना

कात्तिक २०, २०७४
बेलायतमा चुनाव घोषणा : अनुदारवादी युद्धप्रिय नेतृत्व छानिने सम्भावना
बेलायतमा फेरि एकपल्ट चुनावको वातावरण बनेको छ । विगत चार वर्षमा हुन लागेको यो चौथो चुनाव हो । सन् २०१४ मा स्कटल्यान्ड संयुक्त अधिराज्यबाट स्वतन्त्र हुने कि नहुने भनी गरिएको जनमत संग्रह, २०१५ मा बेलायतको आमनिर्वाचन, २०१६ मा बेलायत युरोपेली संघबाट बाहिरिने कि नबाहिरिने भनी गरिएको जनमत संग्रह (ब्रेक्सिट) र अहिले फेरि २०१७ मा (जेठ २५) मा हुन लागेको आमनिर्वाचनले बेलायतमा राजनीतिक अस्थिरताको माहोल चलेको संकेत दिन्छन् ।

यही अस्थिरतालाई अन्त्य गर्न प्रधानमन्त्री टेरिजा मेले चुनावको घोषणा गरेको बताइन् र उनको प्रस्ताव संसद्ले दुई तिहाइभन्दा बढी मत (१३ का विरुद्ध ५२२ मत) ले पारित पनि ग–यो ।

‘हामीले अहिले आमनिर्वाचन गरेनौं भने विपक्षीहरूले राजनीतिक खेल खेलिरहनेछन् अनि युरोपेली संघसित गरिने ब्रेक्सिट वार्ता आगामी आवधिक निर्वाचनसम्म पुग्दा अप्ठ्यारो स्थितिमा पुग्छ,’ मेले निर्वाचन घोषणाको क्रममा भनिन् ।

यो भनेको ब्रेक्सिटप्रति चित्त नबुझाउने लिबरल डेमोक्रेट पार्टी र लेबर पार्टीभित्रको टोनी ब्लेयर ग्रुपप्रति मेको लक्ष्य हो । तर मेले ब्रेक्सिटलाई आमनिर्वाचन घोषणाको बहाना बनाएपनि यसमा अर्कै राजनीति लुकेको छ । चुनावपछि स्थिरता ल्याउने मेको घोषणामा विपक्षीलाई ध्वस्त पार्ने डरलाग्दो रणनीति लुकेको छ । हुन पनि कन्जर्भेटिभ पार्टीको मुद्दा उठाउने अनि बेलायतमा दोस्रो सबभन्दा बढी बिक्री हुने पत्रिका द डेली मेलले मेलाई विपक्षीहरुलाई इंगित गर्दै 'ध्वंसकहरुलाई कुल्चिऊ' (क्रश द साबोट्युर्स) भन्ने हेडलाइन प्रकाशित गरेको थियो ।  
केही समय अघिसम्म पनि मध्यावधि निर्वाचन (स्न्याप पोल) घोषणा नगर्ने भनी स्पष्ट रूपमा कुरा राखेकी मेले अहिले आएर पूरै पल्टा खानुमा उनको कुटिल राजनीतिक चाल झल्किन्छ । हालै गरिएका सर्वेक्षणहरूमा मेको कन्जर्भेटिभ दलले विपक्षी लेबरविरुद्ध २० प्वाइन्टको अग्रता लिएको देखाएकाले खासमा मे निर्वाचनका लागि हौसिएकी हुन् । प्रचण्ड बहुमतले विजयी हुने संकेत पाएपछि उनले पूर्वनिर्णय विपरीत निर्वाचन घोषणा गरेकी हुन् ।

गठबन्धन सरकारहरू आवधिक निर्वाचनअघि नै सरकार गिराउने खेलमा नलागून् र सरकारले पूरा अवधि काम गर्न पाओस् भनेर बेलायतमा फिक्स्ड टर्म पार्लियामेन्ट्स एक्ट सन् २०११ मा पारित गरिएको थियो । पाँच वर्षअघि कुनै निर्वाचन नहुने प्रतिबन्ध लगाएको उक्त ऐनमा एउटा खुकुलो व्यवस्था पनि राखिएको थियो : संसद्को दुई तिहाइ बहुमतले निर्वाचनमा जाने भनी मत दिएमा यो ऐनले छेक्ने छैन । त्यही व्यवस्थालाई टेकेर मेले निर्वाचन घोषणा गरेकी हुन् ।

यो घोषणाबाट उनले एउटै तीरबाट धेरै शिकार गर्ने मनसुबा देखाएकी छन् । प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनको लोकप्रियता अत्यन्त कम भएको र अन्य विपक्षीहरू पनि कमजोर रहेको स्थितिमा अनिर्वाचित प्रधानमन्त्री मेले निर्वाचनमार्फत आफ्नो बहुमत सिद्ध गर्न खोजेकी हुन् ।

अनि ब्रेक्सिटले ल्याएको अन्योलका कारण स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जियनले स्कटल्यान्डको स्वतन्त्रतासम्बन्धी दोस्रो जनमत संग्रह गराउनुपर्ने माग राखिरहँदा त्यसलाई निरस्त पार्न समेत आमनिर्वाचन घोषणा गरिएको हो ।

हुन पनि बेलायतमा विपक्षी दलहरू निरीह स्थितिमा छन् । संसदमा विपक्षी लेबरका नेता कोर्बिनले आमनिर्वाचन घोषणालाई स्वागत गरेर आफ्नै गोडामा बञ्चरो प्रहार गरेका छन् । ठूलै हार बेहोर्ने लक्षण देखिएपनि उनले निर्वाचनमा जानु भनेको कन्जर्भेटिभको निरंकुश शासनको ढोका खोल्नु हो । मे त विपक्षीहरू उठ्नै नसकून् र आफ्ना नीतिहरू सजिलै कार्यान्वयन गर्न पाऔं भन्ने धारणा राख्छिन् ।
उनले निर्वाचन घोषणाका क्रममा कोर्बिन, लिबरल डेमोक्रेट्स र निकोला स्टर्जियनको स्कटिश नेसनल पार्टी सबैको कठोर आलोचना गरिन् । मतसर्वेक्षणहरूले बताएजस्तै उनी प्रचण्ड बहुमतले विजयी भइन् भने कमजोर विपक्षीको स्थितिमा लोकतन्त्र नै संकटमा पर्ने सम्भावना पनि रहन्छ ।

विपक्षीहरू कमजोर भएर कन्जर्भेटिभहरूको प्रचण्ड बहुमत हुँदा विदेशनीतिमा पनि नकारात्मक असर पर्ने सम्भावना हुन्छ । युरोपेली संघलाई छोडेर अमेरिकाको पिछलग्गू बनेको मे सरकारले अमेरिकाले छेडेका युद्धहरूलाई समर्थन गर्ने सम्भावना प्रबल छ । लेबर पार्टीबाट पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशको पुच्छर बन्दै मध्यपूर्वका युद्धहरूमा देशलाई होमेका कारण निराश बेलायतीहरूले सन् २०१५ मा कन्जर्भेटिभ पार्टीलाई बहुमत दिलाएका थिए ।

तर मेको नेतृत्वमा कन्जर्भेटिभ पार्टी पनि त्यही नीति पछ्याउने बाटोमा लाग्ने सम्भावना छ । मेलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू विदेशी नेतालाई भन्दा बढी आत्मीयता देखाउँदै हातै समाएर कोरिडोरमा घुमेको अनि मेले युरोपेली संघ र अमेरिकाका बीच बेलायत पुल बन्ने प्रस्ताव गरेबाटै अमेरिकाको रक्तरञ्जित विदेशनीतिको बेलायत पनि समर्थक हुने लक्षण देखिँदैछ ।

संसद्को अहिलेको स्थितिमा मेलाई सिरियाली सरकारविरुद्ध पूर्ण आक्रमणमा जानका लागि संसदीय समर्थन पाउने स्थिति छैन । तर आगामी निर्वाचनमा मेले सोचेजस्तै प्रचण्ड बहुमत हासिल गरिन् भने यसका लागि बाटो खुल्छ ।

ब्रेक्सिटका रूपमा युरोपेली संघबाट स्वतन्त्रता हासिल गरेको बेलायतले अमेरिकाको पुच्छर बन्ने बाटो मेको विजयले खोल्नेछ । अरूलाई साम्राज्य बनाएको अनि आफू कुनै साम्राज्यको अंग नबनेको इतिहास बोकेकोमा गर्व गर्ने बेलायतीहरू युरोपेली संघको निर्देशन मान्न तयार नभएर ब्रेक्सिटमा जानु स्वाभाविक हो तर अहिले उनीहरूको सरकार अमेरिकाको दासजस्तो स्थितिमा पुग्नु चाहिँ विडम्बना नै मान्नुपर्छ ।

बेलायत लगायतका पश्चिमी मुलुकहरू अचम्मको नीति अपनाउँछन् । आफ्नो देशमा जनताका लागि न्यूनतम सुविधा दिन चाहिँ नचाहने अनि विदेशीहरूको जटिल युद्धमा फसेर हातहतियारमा करोडौं नाश गर्ने नीति बेलायती सरकारको देखिन्छ । हुन पनि केही वर्षयता बेलायतमा लगातार सार्वजनिक खर्च कटौतीको सिलसिला चलाएर अस्पताल, कारागार, पुस्तकालय, ज्येष्ठ नागरिकको हेरचाह लगायतलाई लगभग ध्वस्त बनाइएको छ ।

यस्तो कुनीतिका कारण सर्वसाधारणमा जन्मेको आक्रोशलाई नै चतुर राजनीतिकर्मीहरूले ब्रेक्सिट मतमा परिणत गरेका हुन् । ब्रेक्सिटको विरोधमा अभियान चलाएकी मेले ब्रेक्सिट मत सफल भएपछि भने पल्टा खाँदै ब्रेक्सिटको पक्षधर बनेकी हुन् । त्यसबाट पनि उनको राजनीतिक अवसरवाद प्रस्टिन्छ र उनले ब्रेक्सिट बचाउन आमनिर्वाचनको घोषणा गरेको कुरामा शंका उत्पन्न गराउँछ ।

ब्रेक्सिट त आफ्नो ठाउँमा छ तर उनको नेतृत्वमा कन्जर्भेटिभहरू सार्वजनिक सेवामा कटौती र निजीकरणको नीति अपनाउँदै विदेशी युद्ध र अस्थिर देशमा उदारवादी लोकतन्त्रको स्थापनाका नाममा अनावश्यक खर्च गर्ने रणनीति नै अपनाउने सम्भावना चाहिँ दुःखलाग्दो स्थिति हो ।
अर्को दुःखको कुरा, कोर्बिनको नेतृत्वमा विपक्षी लेबर दलले प्रतिघन्टा १० पाउन्डको न्यूनतम पारिश्रमिक, विदेशी युद्धबाट बेलायतको हात झिक्ने, सार्वजनिक सेवासुविधामा वृद्धि लगायतको नीति अपनाउँदै जनताको मन जितेको भएपनि लेबरभित्रको आन्तरिक किचलोका कारण पार्टी अस्तव्यस्त छ । लेबर पार्टीका पूर्वप्रधानमन्त्रीहरू ब्लेयर र गोर्डन ब्राउनले नेतृत्व गरेका समूहले कोर्बिनलाई असफल बनाउन ठूलै षड्यन्त्र गरिरहेका छन् । यस्तो किचलो भएको दलले पार लगाउँदैन भनेर जनताहरू लेबरको पक्षमा नलागेका हुन् । अर्को विपक्षी दल युके इन्डिपेन्डेन्स पार्टी भने आफ्नो मुख्य एजेन्डा ब्रेक्सिट सफल भएपछि लगभग 'कोल्याप्स'कै स्थितिमा छ । 

विपक्षीहरू यस्तो अस्तव्यस्त भएका बेलामा निर्वाचन घोषणा नगर्नु चाहिँ चतुर राजनीतिकर्मी मेको भूल हुन्थ्यो । अनि अमेरिकाका युद्धप्रिय रणनीतिकारहरू मेको विजयकामना गरिरहेका छन् । सन् २०१३ मा बेलायतको हाउस अफ कमन्सले सिरियामा हवाई आक्रमणको निर्णयलाई रोकेको थियो र अमेरिकालाई अप्ठ्यारो परेको थियो । मेले जितेमा युद्धका लागि संसद् पनि बाधक नबन्ने आश अमेरिकीहरूलाई छ ।
अनि युद्धप्रिय ब्लेयर गुट पनि जेरेमी कोर्बिनले हारून् र उनलाई पार्टीबाट निकाल्न सकियोस् भन्ने आश गरेर बसेका छन् । युद्धविरोधी कोर्बिनलाई उठ्नै नदिने षड्यन्त्रमा लागेका ब्लेयरहरूले पनि अप्रत्यक्ष रूपमा कन्जर्भेटिभलाई नै जिताउने बाटो बनाउँदैछन् ।

लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने जोकोहीले पनि निर्वाचनलाई स्वागत नै गर्छ तर अहिले बेलायतमा हुन लागेको निर्वाचनले चाहिँ अनुदारवादी युद्धप्रिय नेतृत्वलाई छान्ने सम्भावना भएकाले चिन्ता जन्मिएको हो ।

यो सामग्री तयार पार्न अन्य रिपोर्टका अलावा मुख्यतया स्पुतनिक न्युजमा प्रकाशित नील क्लार्कको लेख र द गार्डियनमा प्रकाशित एन्नी पर्किन्सको लेखको सहायता लिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्