
कुलेश्वरका लालचन्द्र गौतमले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ भाइरस संक्रमितलाई उपचार गर्नका लागि सोमवार आफ्नो घर आइसोलेसन बनाउन प्रस्ताव गरे ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै गौतमले आइसोलेसनका लागि कसैलाई घर चाहिएको भए कुलेश्वरको लिंकरोडमा रहेको आफ्नो घर खाली रहेको बताएका थिए ।
'मलाई थाहा छ, नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन,' गौतमले फेसबूकमा लेखेका छन्, 'नेपाल सरकार या अन्य कुनै गैरनाफामूलक एजेन्सीले मेरो घरलाई अल्पकालीन अस्पताल बनाउन तयार हुन्छ भने मैले मेरो घर फ्रीमा दिन सक्छु ।'
त्यसलगत्तै सामाजिक सञ्जाल फेसबूकमार्फत चिराग गोयलले सिफलमा रहेको आफ्नो घर पनि आइसोलेसनका लागि फ्रीमा दिने घोषणा गरे । गोयलले लेखेका छन्, 'घरमा केही मर्मत गर्नुपर्ने पनि छ, यदि कसैले आइसोलेसनका रूपमा घर प्रयोग गर्न चाहन्छ भने हामीले छिटै मर्मत गर्नेछौं ।'
उनले उनको घरलाई आइसोलेसनको रूपमा प्रयोग गर्न चाहनेले आफूलाई म्यासेज गर्नसमेत आग्रह गरेका छन् ।
यससँगै कोरोनाको सम्भावित संक्रमणबाट जोगिन नागरिकको तहबाट गर्न सकिने पहलको नयाँ आयाम सिर्जना भएको छ । आइसोलेसनका लागि आफ्नो घर प्रयोग गर्न सक्ने प्रस्ताव गरेका यी दुवैजनाले अन्यलाई पनि प्रेरणा दिएका छन् ।