२३ जेठ २०८३, शनिबार

कोरोनाबाट बच्न बेलायतमा भूपू गोर्खाको स्वयंसेवी अभियान

कोरोनाबाट बच्न बेलायतमा भूपू गोर्खाको स्वयंसेवी अभियान
प्रतिकात्मक तस्वीर

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट, फार्नबरो क्षेत्रमा खासगरी वृद्धवृद्धालाई मद्दत गर्न स्वयंसेवा शुरू गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायती सरकारले जनतालाई भीडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसँंग सम्बद्ध पदाधिकारीले त्यस्तो पहल शुरू गरेका हुन् ।

कोरोनाबाट आफू बच्न र अरूलाई बचाउन खासगरी वृद्धवृद्धालाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयंसेवी अभियान शुरू गरिएको समाजसेवी विक्रम भट्टराईले बताए ।

उक्त समूहले यदि कोही क्वारन्टाइनमा भए र घरमा सामान सकिएको छ भने किनमेल गरेर ढोकामा राखिदिने, तिनलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिइरहने र आवश्यक साधारण औषधि किनेर ढोकामा राखिदिनेलगायत सहयोग गर्ने गरेको छ ।

समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीको सङ्ख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्लीलगायत क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाइएको छ । 

स्वयंसेवी भीम बानियाँले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको बताए ।

'१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ, त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ',  उनको तर्क छ ।

समूहमा महिला स्वयंसेवीको पनि सक्रिय सहभागिता छ । कृष्णप्रसाद शर्मा/रासस
 

salt training

कमेन्ट गर्नुहोस्