
काठमाडौं, ७ वैशाख — अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले इरानलाई चिन्ताजनक रूपमा उत्तेजक क्रियाकलाप गरेको आरोप लगाएका छन् । इरानका कारण मध्यपूर्वमा अस्थिरता छाएको र अमेरिकाको स्वार्थमा धक्का पुगेको टिलरसनको दाबी छ ।

‘इरानलाई नियन्त्रणमा राखिएन भने उसले उत्तर कोरियाको बाटोमा हिँड्ने सम्भावना छ र संसारलाई भड्खालोमा पनि पार्न सक्छ,’ टिलरसनले भने ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताको समीक्षाको आदेश दिएका थिए ।
तर इरानले सन् २०१५ को यो सम्झौता पालना गरिरहेको अमेरिकाले मान्यो ।
इरानले यी पछिल्ला घटनाक्रममाथि सार्वजनिक टिप्पणी गरेको छैन ।
आणविक हतियार विकास गर्न लागेको भन्ने पश्चिमको आरोपलाई इरानले लगातार अस्वीकार गर्दै आएको छ ।
इरानले आतंकवादलाई प्रोत्साहन गरिरहेको पनि अमेरिकाले आरोप लगाएको छ ।
बीबीसीबाट