
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नकटाजिझस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) लाई २ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
प्रधानाध्यापक महेन्द्र महतो (मावि तृतीय श्रेणी) ले सेवाग्राहीलाई एसईई परीक्षाको रजिस्ट्रेसन फाराम नभरेकाले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा घुस माग गरेको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले प्रधानाध्यापक महतोलाई सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नगद रकमसहित विद्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।
अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि प्रधानाध्यापक स्वतः निलम्बित हुने व्यवस्था छ । यससँगै महतोको शिक्षक पद नै धरापमा पर्ने देखिएको छ ।