बुटवल, ६ पुस - रुपन्देही देवदहका व्यवसायी तथा युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको आज दुई दिनपछि बुटवलमा शोकयात्रा र श्रद्धाञ्जलिसभासहित बजार परिक्रमा गराइएको छ ।

यसअघि बुटवलको पुष्पलाल पार्कमा युवा सङ्घको झन्डा सङ्गठनका केन्द्रीय अध्यक्ष राजीव पहारीले र पार्टीको झन्डा नेकपा (एमाले)का उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले संयुक्तरुपमा ओढाएका थिए ।
लुम्बिनी अञ्चल अस्पतालमा स्वर्गीय तिवारीको शव परीक्षणपश्चात् निकालिएको शोक यात्रामा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो । गत सोमबार दिउँसो उहाँको हत्या भएपछि रुपन्देहीसहित यस क्षेत्रमा विरोधका कार्यक्रम भइरहेका अवस्थामा आज बुटवलमा तिवारीको शवयात्रासहित श्रद्धाञ्जलिसभा गरिएको हो ।
शवयात्रा बुटवलको पुष्पलालपार्क हुँदै अमरपथ, सङ्गमपथ, मिडियाचोक मिलनचोक र राजमार्ग चौराहाहुँदै देवदह पु-याइएको थियो । स्व तिवारीको आजै देवदह खैरेनीस्थित निवासबाट अन्त्येष्टिका लागि देवघाट लैजाने कार्यक्रम रहेको उनका दाजु चक्रपाणि तिवारीले जानकारी दिए ।
श्रद्धाञ्जलिीसभालाई सम्बोधन गर्दैै एमाले उपमहासचिव विष्णु पौडेलले स्व तिवारीका हत्यारालाई अविलम्ब कारबाही गर्न माग गर्दै सरकारले अपराधीलाई कारबाही गर्न नसके आफूहरुले अपराधीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउन सक्षम रहेको बताए ।
कार्यक्रममा एमालेका अर्का उपमहासचिव घनश्याम भुसालले मुलुक अप्ठ्यारो अवस्थामा परेको र एमालेकाविरुद्ध घेराबन्दी भएको बेलामा एमालेका इमान्दार र प्रतिबद्ध कार्यकर्ता तिवारीको हत्या भएको भन्दै हत्यारालाई कठघरामा उभ्याउने प्रण गरे ।
कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले तिवारीको हत्या ५ नम्बर प्रदेश विभाजन गर्न पाइँदैन भन्ने आन्दोलनको नेतृत्व गरेकाले भएको बताए ।
यसैबीच प्रशासन र युवा सङ्घबीच आजै पाँचबुँदे सहमति भएको छ । जसमा घटनाको छानबिन र अपराधीलाई कडा कारबाही गर्ने, सहिद घोषणाका लागि सिफारिस गर्ने, रुपन्देहीका मुख्य क्षेत्रलगायत पहिलो चरणमै देवदह क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने लगायत रहेका छन् । प्रशासनसँगको भएको सहमतिपश्चात् स्व तिवारीको शव आफन्तले आज बुझेका हुन् ।
प्रशासनसँगको सहमतिपश्चात् शव यात्रा सकिएपछि तिवारी हत्याविरुद्ध युवा सङ्घले तीन दिनदेखि आह्वान गरेको बन्द हडतालको कार्यक्रम फिर्ता भएको सङ्घका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए । बन्द हडताल फिर्ता भएपछि यस क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन थालेका छन् ।