०४ असार २०८३, बिहीबार

डीआईजी नवराज सिलवाल छानबिनमा, अदालतमा पेश गरेको कासमू अनुसन्धान गर्ने मन्त्रिपरिषद्को निर्णय

कात्तिक २०, २०७४
डीआईजी नवराज सिलवाल छानबिनमा, अदालतमा पेश गरेको कासमू अनुसन्धान गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, ७ वैशाख – सरकारले डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजातमाथि अनुसन्धान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको विज्ञान तथा प्रविधिमन्त्री प्रमेबहादुर सिंहले लोकान्तरलाई बताए ।

डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि त्यसविरुद्ध डीआईजी सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारको निर्णयले आफूमाथि अन्याय भएको सिलवालको दाबी थियो । रिटसँगै सिलवालले सर्वोच्चमा आफ्नो र अर्यालको कासमू पेश गरेको भेटिएको सरकारको भनाइ छ ।

सिलवालले प्रकाशको भन्दा आफ्नो कासमू बढी भएको अभिलेख सर्वोच्चमा पेश गरेको सरकारी दाबी छ । सर्वोच्चमा सिलवालले पेश गरेको भनिएको कासमू अभिलेख महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले नियन्त्रणमा लिइसकेको छ ।

‘नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कासमू अभिलेख कहाँबाट प्राप्त गरेको हो भन्ने स्रोत खुलाउन लगाई अदालतबाट समेत कासमूको प्रमाणित प्रतिलिपि लिई अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवा आयोगमा मात्र सुरक्षित हुने कासमू अभिलेख सिलवालको रिटसँगै अदालतमा पेश भएकाले त्यसमाथि छानबिन गर्ने निर्णय लिइएको मन्त्री सिंहले बताए ।

‘सरकारसँग भएको भन्दा फरक फन्टसहितको नक्कली कासमू सिलवालले कहाँबाट प्राप्त गरे ? त्यसको स्रोत के हो ? उनलाई कसले दियो वा उनले कहाँबाट प्राप्त गरे ?’ प्रश्न उठाउँदै मन्त्री सिंहले थपे, ‘सरकारकै कर्मचारीबाट यति गम्भीर नक्कली कागजात अदालतमा पेश हुनु सामान्य कुरा होइन । त्यसैले उनले अदालतमा पेश गरेको अभिलेखमाथि छानबिन गर्ने निर्णय भएको हो ।’

गएको फागुन १ गते सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । त्यसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँच न्यायाधीशले कासमूमा सिलवाल अघि रहेको विवादास्पद आदेश गरेका थिए ।

सर्वोच्चको आदेशपछि आईजीका प्रत्यासी चार डीआईजीको फाइल खोल्दा सिलवालको नभई डीआईजी (हाल आईजी) प्रकाश अर्यालको कासमू बढी भेटिएको थियो । त्यसबारेको खोजपूर्ण समाचार लोकान्तरले पहिलोपटक सार्वजनिक गरेको थियो ।

अर्यालको कासमू बढी भेटिएपछि सरकारले त्यस आधारमा उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

यी पनि पढ्नुहोस् :

आइजी प्रकरणमा लोकसेवा पनि फस्यो, कासमू अभिलेख पठाउँदा सर्वोच्चलाई ढाँटेको खुलासा [लोकान्तर खोज]

लोकान्तर खोजको सार्थक परिणाम : प्रहरी प्रमुखमा अर्याल नियुक्त

सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ![लोकान्तर खोज]

salt training

कमेन्ट गर्नुहोस्