
इटलीका एक चिकित्सकले दर्जनौं कोरोनाभाइरस पीडितहरूले मर्नुअघि गरेको कारुणिक पुकारको वर्णन गरेकी छन् ।
डा फ्रान्सेस्का कोर्तेलारो मिलानमा रहेको सान कार्लो बोर्रोमियो अस्पतालमा काम गर्छिन् । उनले कोरोनाका रोगीहरू एक्लै मर्नुअघि आफ्ना नातेदारलाई अलबिदा भनेका अनेकौं कारुणिक दृश्य देखिन् ।
इटलीलाई कोरोनाभाइरसले सबभन्दा बढी असर पारेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
एकजना हजुरआमाले आफ्नी नातिनीलाई अलबिदा भन्नका लागि डा कोर्तेलारोको सहायता लिएकी थिइन् ।
उनले इटालेली पत्रिका इल गियोर्नालसँग कुराकानी गर्दै भनिन्, ‘सबभन्दा नाटकीय कुरा के हो तपाईंलाई थाहा छ ? रोगीहरू एक्लै मरिरहेको अनि उनीहरूले आफ्ना छोराछोरी र नातिनातिनीलाई अलबिदा भन्नका लागि चिकित्सकहरूलाई पुकारिरहेको दृश्य अत्यन्तै भावुक किसिमको छ ।’
‘रोगीहरूलाई पानीमा डुबेको जस्तो अनुभव हुने रहेछ । म डुबिरहेको छु भन्ने थाहा पाउन पनि उनीहरूलाई समय लाग्ने रहेछ । अनि मर्ने बेलामा चाहिँ उनीहरूलाई मृत्युको आभास हुन्छ ।’
मर्न लागेकी हजुरआमालाई आफूले कसरी सहायता गरेको भन्ने कुरा वर्णन गर्दै डा कोर्तेलारो भन्छिन्, ‘मैले मोबाइल फोन झिकें अनि नातिनीलाई भिडियो कल गरें । हजुरआमा र नातिनीले एकअर्कालाई अलबिदा भने । त्यसको केही समयपछि हजुरआमा बितिन् ।’
अन्य थुप्रै रोगीहरूलाई पनि यसैगरी नातेदारसँग अलबिदा गराउन आफूले सहायता गरेको उनको भनाइ छ ।
कोर्तेलारो कोरोनाभाइरससँग लड्ने हजारौं चिकित्सकहरूमध्ये एक हुन् । इटलीमा अहिलेसम्म कोरोनाको ५३ हजार ५७८ केस देखिएका छन् जुन चीन बाहिरको सबभन्दा धेरै हो ।