
कोरोना भाइरस संक्रमणको त्रास र प्रभावका कारण पोखरा छोड्नेहरूको संख्या बढ्दो छ ।
बसपार्क क्षेत्रमा मानिसहरूको भीड देखिन्छ भने यातायातका साधन यात्रुले भरिएका छन् ।
काखमा बच्चा च्यापेर बसको पर्खाइमा रहेकी पर्वतको कार्कीनेटाकी कमला पौडेलले केही दिन गाउँमा बसेर पोखरा फर्किने बताइन् । पोखरामा डेरामा बस्ने उनका पति र ८ वर्षका अर्को छोरा पनि छन् ।
कमलाले भनिन्, ‘के जाति कोरोना आयो भन्छन्, स्कूल पनि छुट्टि गरे । गाउँमै आनन्द छ । त्यसैले सबैजना घर जान लागेको ।’
कमला जस्तै शहर छोड्नेको लर्काे केही दिनयता ह्वात्तै बढेको हो । मानिसहरू पोखरा छोडेर गाउँ फर्किदा शहर समेत शून्य हुँदै गएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार दशैंको बेलामा हुने चापभन्दा बढी भएको छ । पोखराबाट पूर्वको तुलनामा पश्चिम जानेहरू अझ बढी छन् ।
केसीले भने, ‘सामान्य अवस्थामा पश्चिममा ८ वटा रात्रिबस छुट्ने गरेकोमा शनिवार मात्र ३० वटा रात्रिबस छुटे । महेन्द्रनगरका लागि दैनिक १ मात्र रात्रिबस छुट्ने गरेकोमा अहिले ४ र धनगढीका लागि २ गाडी छुट्ने गरेकोमा ५ गाडी छुटेका हुन् ।’
प्रधानमन्त्री ओलीले शुक्रवार देशबासीका नाममा गरेको सम्बोधनमा चैत १० गते सोमवारदेखि लामो दुरीका सवारीसाधन रोक्ने घोषणा गरेकोमा आइतवार लामो दुरीका सवारीसाधन चल्ने अन्तिम दिन हो । सार्वजनिक सवारीसाधन सोमवारदेखि एक जिल्ला कटेर अर्को जिल्लामा जान नपाइने पनि भनिएको छ । त्यसकारण हतारहतार मानिस गाउँ फर्किंदा सवारीसाधनमा भीड बढेको हो । नेपालमा यातायात क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग सम्बन्धित हाल १ हजार ४०० गाडी छन् ।

बजारको तुलनामा गाउँमा बस्ती कम हुने र भीडभाड समेत कम हुने भएकोले सरकारले पनि गाउँ फर्किन मानिसलाई उक्साएको छ । आइतवारदेखि अत्यावश्यक कार्यालयबाहेक सरकारी कार्यालय बन्द छन् । स्कूल–कलेज यसअघि नै बन्द गरिएको छ ।
नेपाल यातायात व्यवसायी संगठनका केन्द्रीय सचिव बलराम सापकोटाले यात्रुले पनि कोरोना भाइरसविरुद्ध सचेतता अपनाउनुपर्ने सल्लाह दिन्छन् । उनले गाडीमा चढ्नुअघि सकेसम्म मास्क प्रयोग गर्न सुझाएका छन् ।
पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीका अनुसार पोखरामा हाल १२ देखि १५ लाख मानिसको स्थायी वा अस्थायी बसोबास छ । पोखरा नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको महानगर हो ।