१० साउन २०८३, आइतबार

गृहमन्त्रीलाई भेटेर भारतीय राजदूतले भने– कोरोनाविरुद्धको लडाईंमा साथमा छौं

गृहमन्त्रीलाई भेटेर भारतीय राजदूतले भने– कोरोनाविरुद्धको लडाईंमा साथमा छौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

नेपालमा भारतीय राजदूत रूपमा कार्यभार सम्हालेकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाइ लिने विश्वास गरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

भेटमा उनले विश्व्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरूबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

यसै सन्दर्भमा नेपाल–भारतसीमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरे ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कोरोना भाइरस विरुद्धको लडाईंमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफुहरू तयार रहेको बताए ।

उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्