०४ साउन २०८३, सोमबार

एमालेले छान्यो दुई गाउँपालिकामा सर्वसम्मत उम्मेदवार 

कात्तिक २०, २०७४
एमालेले छान्यो दुई गाउँपालिकामा सर्वसम्मत उम्मेदवार 
काँकडभिट्टा (झापा), ७ वैशाख-नेकपा (एमाले)ले झापाका दुई वटा गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।

एमालेका मोर्चा प्रमुख शिव ढुङ्गेलका अनुसार झापा गाउँपालिका र केचना कवल गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारको नाम चयन भएको हो ।

उहाँले झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली र उपाध्यक्ष पदका लागि कुन्तीदेवी बुढाथोकीको नाम सर्वसम्मत चयन भइसकेको बताउनुभयो ।

त्यसैगरी, केचना कवल गाउँपालिकाबाट अध्यक्ष पदका लागि शेरबहादुर खत्री र उपाध्यक्ष पदमा धनमाया दाहालको नाम चयन भएको छ ।

यी दुवै गाउँपालिकाका वडामा समेत ५० प्रतिशत वडाध्यक्ष र सदस्यको टुङ्गो लागिसकेको प्रमुख ढुङ्गेलले बताउनुभयो । एमालेले बाँकी रहेका आठ वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने कार्यलाई तीव्रता दिएको छ ।

पार्टीले उम्मेदवार चयनमा विभिन्न समिति बनाएको छ । ती समितिले आज बेलुकासम्ममा सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्गो लगाइसक्ने जनाएको छ । ढुङ्गेलले उम्मेदवारका आकांक्षी धेरै रहेका कारण मुख्य पदमा चयन गर्न समस्या भइरहेको बताउनुभयो ।

त्यसैगरी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म कुनै पनि नगरपालिका र गाउँपालिकाका प्रमुखको टुङ्गो लगाइनसकेको जनाएको छ । 

कमेन्ट गर्नुहोस्