
कोरोना नियन्त्रण कोषमा रकम जम्मा गर्न सबैलाई सरकारको आह्वान
सरकारले बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गर्न सरकारले सबै नेपालीलाई आह्वान गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले कोषको रकम कोरोना रोकथामका लागि पूर्वाधार बनाउन र स्वास्थ्य सामग्री आपूर्ति गर्न प्रयोग गरिने बताए ।
कोषमा सरकारले शुरू पुँजी ५० करोड रुपैयाँ राख्ने र संघीय सरकारका मन्त्रीहरूले १ महिनाको तलब जम्मा गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए । ‘यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, संघसंस्थाका जति पनि व्यक्ति हुनुहुन्छ, सहयोग गर्ने हातहरू हुनुहुन्छ, सहयोग गर्न सबैलाई आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘कोरोनाको जोखिम बढिरहेको अवस्थामा अर्थतन्त्रमा केही प्रतिकूलता देखिन थालेका छन् । पूर्वाधारमा लगानी गर्नुपरेको छ । त्यसो हुनाले एउटा कोरोना संक्रमण रोकथाम कोष निर्माण गर्ने निर्णय भएको छ ।’
प्रवक्ता खतिवडाले नेपालका सबै विदेशी सीमानाका १ हप्ताका लागि बन्द गर्ने निर्णय भएको समेत बताए । ‘एउटा देशमा भएको संक्रमण अर्काे देशमा नसरोस् भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर चैत १० गते बिहान १० बजेदेखि १ हप्ता चैत १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकामा यात्रा आवागमन निषेध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सार्वजनिक सरकारी क्षेत्रका सरकारी कर्मचारी नियमित काममा आउने निर्णय समेत भएको छ ।’
बजारमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रुपमा बजार अनुगमन गर्ने निर्णय भएको समेत उनले बताए । ‘आपूर्ति सहज गर्ने र अभाव हुन लागेको वस्तु आयात गर्ने कि भण्डारण गर्ने निर्णय लिने । कालोबजारी गर्ने र आपूर्तिमा अवरोध गर्नेलाई कारवाही गर्ने जिम्मेवारी मन्त्रालयलाई दिइएको छ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा भएका निर्देशन कार्यान्वयनका लागि कार्यतालिका बनाएर स्वीकृत गरिएको खतिवडाले बताए । ‘सरकारी निकाय र जनप्रतिनिधिमूलक संस्थाले कोरोना संक्रमणबाट बच्न गरेका निर्णयलाई मन्त्रिपरिषद् बैठकले प्रशंसा गरेको छ भने निरन्तर सहयोग, सहकार्य र क्रियाशीलताको अपेक्षा गरेको छ,’ उनले भने, ‘राजनीतिक दल, सामाजिक संस्था, सञ्चारमाध्यम सबैलाई धन्यवाद दिएर अझै सम्भावित जोखिमको विरुद्ध लड्न आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।’
भारत र चीनसँगका सबै नेपाली सीमानाका १ हप्ताका लागि पूर्णरुपमा बन्द
सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन आगामी १ हप्ताका लागि भारत र चीनसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी चीन र भारतमा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा स्थलमार्गबाट समेत भाइरस भित्रिन सक्नेतर्फ ध्यान दिँदै सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको हो । हवाई मार्गलाई भने सरकारले यसअघि नै बन्द गरिसकेको थियो ।
मन्त्रिपरिषद् स्रोतका अनुसार सीमानाका बन्दको निर्णय सोमवार बिहानदेखि कार्यान्वयन हुनेछ ।
कोरोनासँग लड्न गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन
विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ (कोरोना) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ ।
आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् ।
विज्ञप्तिमा जनतालाई सरकारसँग हातेमालो गर्दै अघि बढ्न आग्रहसमेत गरिएको छ ।
पेट्रोलियम पदार्थ अभाव हुने गलत हल्लाको पछि नलाग्न आग्रह
अखिल नेपाल पेट्रोलियम मजदूर संघले पेट्रोलियम पदार्थ अभाव हुने गलत हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले नाकाबन्द गर्ने र पेट्रोलियम पदार्थ अभाव हुने भन्दै उपभोक्ताहरुले अनावश्यक रुपमा पेट्रोलियम पदार्थ सञ्चित गर्न थालेपछि पेट्रोलियम मजदूर संघका केन्द्रिय अध्यक्ष शिव पोख्रेलले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले देशैभरि आवश्यक पर्ने सबै पेट्रोलियम पदार्थ पर्याप्त रहेको बताए । देशका सबै नाकाहरूबाट निर्बाध रूपमा पेट्रोलियम पदार्थ आयत भइरहेका बेला गलत हल्लाको पछि नलाग्न उनले सबैलाई अनुरोध गरेका छन् ।
सरकारले अत्यावश्यक बाहेकका सेवा अन्य सेवा बन्द गर्न आग्रह गरेको भन्दै पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने भएकाले उपभोक्तालाई गलत हल्लाको पछि नलाग्न अध्यक्ष पोख्रेलले आग्रह गरेका हुन् ।
उनले घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगलागीको जोखिम बढ्नेतर्फ पनि सजग हुन सुझाव दिएका छन् भने राष्ट्रलाइ संकट परेको बेला देशैभरका पेट्रोलियम क्षेत्रमा कार्यरत मजदूरहरूलाइ उच्च सतर्कता अपनाई अहोरात्र खट्न निर्देशनसमेत दिएका छन ।
कोरोना भाइरसको उपचार प्रक्रियालाई सहज बनाउन एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई परिचालन गरिने
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस 'कोभिड-१९' को उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरूलाई परिचालन गर्ने भएको छ ।
मन्त्रालयले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एमबीबीएस पढ्दै गरेका विद्यार्थीहरूलाई परिचालन गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले बैंकहरूलाई भन्यो– सकेसम्म कम कर्मचारीबाट सेवा दिनू, सिफ्टमा काम लगाउनू
कोरोना भाइरसको त्रासका कारण अधिकांश सेवाहरू बन्द भएपनि अत्यावश्यक सेवाका रूपमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको अवस्थामा अत्यावश्यक सेवाभित्रै पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरू खुला रहने राष्ट्र बैंकले जनाएको छ ।
यद्यपि सकेसम्म कम कर्मचारीबाट सेवा चलाउन र भीडभाड हुन नदिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ ।
'कर्मचारीहरूमा हुनसक्ने संक्रमण तथा संस्थाको बिजनेस कन्टिन्युटीलाई मध्यनजर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारू राख्ने,' राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै भनेको छ ।
त्यसका लागि सिफ्टवाइज काम लगाउने र वर्कफर्म होमको नीति अबलम्बन गर्न सकिने राष्ट्र बैंकको सुझाव छ ।
गृहमन्त्रीलाई भेटेर भारतीय राजदूतले भने– कोरोनाविरुद्धको लडाईंमा साथमा छौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।
नेपालमा भारतीय राजदूत रूपमा कार्यभार सम्हालेकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाइ लिने विश्वास गरे ।
गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।
भेटमा उनले विश्व्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरूबीच सहकार्यको आवश्यकतामा जोड दिए ।
यसै सन्दर्भमा नेपाल–भारतसीमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरे ।
राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले कोरोना भाइरस विरुद्धको लडाईंमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।
कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफुहरू तयार रहेको बताए ।
उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।