काठमाडौं, ८ वैशाख– आफू अभिनित चलचित्रको प्रचारका लागि बलिउड अभिनेताहरुले उनेक हत्कण्डा अपनाउने गर्छन् । सामाजका लागि अपाच्य र असुहाउँदा नै किन नहोउन्, बलिउडका चर्चित सेलीब्रेटीहरुले चलचित्रको प्रमोशनका लागि कुनै कसर बाँकी राख्दैनन् ।
चलचित्र ‘पिके’को प्रचारका लागि अभिनेता आमिर खानका नाङ्गो तस्वीरसहितको पोस्टर सार्वजनिक हुँदा बलिउडमा तहल्का मचिएको थियो । अहिले अर्का अभिनेता सलमान खानले घाँटीमा जुत्ताको माला लगाएको पोस्टर सार्वजनिक भएको छ ।
सलमान अभिनित नयाँ चलचित्र ‘ट्युबलाइट’को पोस्टरमा सलमान खानले जुत्ताको माला लगाएको देखाइएको हो । जारी पोष्टरमा चेक सर्ट र हाफ स्वीटर लगाएका सलमानको काँधमा जुताको माला देखिन्छ ।
कविर खानले निर्देशन गरेको यो चलचित्रले भारत र चीनको कथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक हुने जनाइएको छ ।
सलमानको घाँटीमा जुत्ताको माला सहितको पोष्टरले अहिले चर्चा कमाइरहेको छ ।