
बिहीवार राति पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा घर आँगनको दैलोमा तेल हाल्दै खनेपछि निस्किने अँगार (कोइला) को टीका लगाए कोरोनाबाट जोगिने हल्ला फैलियो ।
कोरोनाको त्रासबाट त्रसित नागरिक बिहीवार मध्यराति १२ बजेपछि घर प्रवेश गर्ने मूल ढोकामा कोदालो वा हँसियाले खन्न थाले । दैलो खन्दै तेल पनि खन्याउन थाले अनि अँगार नभेटिएपछि माटोकै भएपनि टीका लगाएर स्थानीयहरू सुते ।
पञ्चपुरीका युवा नेता जगत ढकालका अनुसार राति १२ बजे कोरोनाबाट बच्न दैलो खन्नुपर्ने हल्ला गाउँभरि मच्चाइएको थियो । ‘पहिला दैलो खन्ने महिलाले दुवै खुट्टा धुनुपर्ने, घर बाहिरबाट कोठाभित्र जानुपर्ने, फेरि बाहिर फर्कनुपर्ने, दायाँ खुट्टा ढोकाको बीचमा टेक्नुपर्ने, यति प्रक्रिया पुगेपछि कोदालो वा हँसियाले दायाँ खुट्टा राखेको स्थानमा खन्नुपर्ने, तेल पनि हाल्नुपर्ने अनि मात्र त्यहाँ कालो पदार्थ अँगार निस्किने, त्यो निस्केपछि सबै परिवारलाई टीका लगाइदिए कोरोना नलाग्ने प्रचार भएको रहेछ,’ उनले रातिको हल्लाबारे लोकान्तरलाई सुनाउँदै भने, ‘हामीहरूले होइन भनेर भन्दा पनि महिलाहरूले मान्दै मानेनन्, रातभर गाउँमा महिलाहरूले हल्ला चलाए ।’
चौकुने गाउँपालिका–९ का अध्यक्ष नवराज जैशीले शुक्रवार बिहान पनि केही व्यक्तिले अँगार खोज्न दैलो खनिरहेको बताए । ‘राति मानिस चिच्याएर हैरान थिए । घरभित्र बस भनेपछि उनीहरूले मानेनन्, मैले सुने अनुसार कालिकोटमा हिजै दैलो खन्ने काम सम्पन्न भइसकेको थियो,’ उनले भने ।
पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकालले गाउँमा हल्ला आएको बताए । ‘यो हल्ला कहाँबाट आएको हो थाहा छैन । कोही चौकुनेबाट हल्ला आएको भन्छन्, झूटा कुरा पत्ता लगाउन हामी खोजिरहेका छौं । कहाँबाट आएको हो अब हामीले व्यापक खोजी गरिरहेका छौं,’ उनले भने, ‘प्रहरी चौकी कुइनेसँग कुराकानी भइसकेको छ । हल्लाका पछि नलाग्न म सबैलाई आग्रह गर्दछु ।’
चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले आफूहरूले कोरोनबाट बच्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको बेला यस्तो हल्ला कहाँबाट र कसरी आएको हो अच्चमित भएको बताइन् । ‘राति नै ४ बजेतिर मलाई फोन आउको थियो, कोरोनाको औषधि भेटियो भनेर,’ उनले भनिन्, ‘म घरमा नै बसेकी छु । अब हामी फेरि पनि जनचेतानमूलक अभियान चलाउँछौं ।’
चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिकाभर एक्कासी हल्ला फैलिएको बताए । ‘हिजो रातभर नै कोही सुतेका छैनन्, जनता सबै आँगन खन्न र आकाश हेर्नमा व्यस्त भए,’ उनले भने, ‘हल्ला आज रातभरका लागि मात्रै हो । आकाशमा रातो मुस्लो देखिने छ, त्यो मुस्लो सबैको घरआँगनमा आएर विलिन हुनेछ, त्यो खनेर टीका लगाउँदा कोरोना कसैलाई लाग्ने छैन भन्ने हल्ला चलाइएको रहेछ ।’
राति फैलिएका हल्ला निराधार रहेको बताउँदै उनले फेरि गाउँमा जान अभियान नै सञ्चालन गर्ने बताए । ‘गाउँपालिकाले फेरि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँछ । अहिले वडा कार्यालयले अभियानहरू चलाइरहेका छन् । गाउँपालिकाले पनि अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘कोरोनाबाट बच्न अन्धविश्वासका कारण होइन, सफा रहे, हात धोए, घरभित्रै बसेको खण्डमा मात्रै सम्भव छ भन्ने कुरा गाउँमा फेरि फैलाउँछौं ।’

कर्णाली प्रदेशमा मात्रै होइन, सुदूरपश्चिममा समेत हल्ला फैलिएको छ । कोरोनाको महामारी फैलिएको बेला पश्चिम नेपालमा कोरोनाबाट जोगिन ‘कोइलाको तिलक’ लगाउने भ्रम फैलाइएको छ ।
मध्यराति पश्चिमी आकाशमा ठूलो ज्वाला र आवाजसहित उल्का पिण्ड खसेको देखिएको थियो । त्यो खसेयता भ्रम फिजाइएको पाइएको छ । कैलालीको टीकापुरका स्थानीय विजयराज श्रेष्ठले घरको आँगन खनेर निस्कने अँगारको टीका लगाएपछि कोरोनाले छुन नसक्ने भन्दै भ्रम सिर्जना भएपछि सबैले आ–आफ्नो आँगन खनेर कोइला जस्तो कालो माटो वा कोइला निकालेर त्यसको टीका परिवारजनमा लगाइदिएको जानकारी गराए । अधिकांश भ्रममा परेको बताउँदै उनले टीकापुर क्षेत्रका केहीले ढलान गरेको आँगन समेत फुटालेको बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक कक्ष प्रमुख कोरोना रोग फोकल पर्सन डा. जगदिश जोशीले यस्ता भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
– सुर्खेतबाट शेरबहादुर थापा र धनगढीबाट लखन चौधरी