बैतडी, ८ वैशाख– स्थानीय चुनावमा उम्मेदवार छनौटको विषयलाई लिएर बैतडीमा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
स्थानीय मेलौली नगरपालिकाको मेयरका लागि उम्मेदवार छनौटको विषयमा विवाद उत्पन्न भएको जनाइएको छ । विवादले उग्र रुप लिँदा कार्यकर्ताहरुबीच बिहीबार राती कुटाकुट भएको हो ।
कुटपिटबाट नेपाली कांग्रेसका कार्यकर्ता इश्वरदत्त भट्ट गम्भीर घाइते भएका छन् । भट्ट कांग्रेसका तर्फबाट मैलौली नगरपालिकामा मेयरको उम्मेदवारका आकांक्षी हुन् ।
पार्टीभित्रैका विपक्षी कार्यकर्ताले उनीमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आँखा र खुट्टामा चोट लागेका भट्टको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुमध्ये महेन्द्रसिंह नायक, धिरेन्द्र बहादुर चन्द र विरेन्द्र बहादुर चन्द छन् ।