
भारतको केरलामा एकजना कैदीले रक्सी भन्ठानेर स्यानिटाइजर पिएपछि ज्यान गुमाएका छन् ।
पलक्क्ड जेलमा रहेका रमनकुट्टी नामक ती कैदी १८ फेब्रुअरीदेखि पुर्पक्षका क्रममा जेलमा बसिरहेका थिए ।
उनी स्यानिटाइजर पिएपछि जेलमा बेहोश भएका थिए ।
मंगलवार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ज्यान गयो ।
सरकारले अहिले सबै ठाउँमा स्यानिटाइजर राख्न निर्देशन दिएबमोजिम जेलमा स्यानिटाइजर राखिएको थियो । त्यसमा हुने अल्कोहलले कैदीलाई झुक्याएको अधिकारीहरुले अनुमान गरेका छन् ।
केरलामै मदिराको लत लागेका एक युवकले आत्महत्या गरेका छन् ।
थ्रिसुरमा बस्ने सनोज नाम गरेका ती युवक लकडाउनका बेलामा रक्सी किन्न नपाएर चिन्तित थिए । अरू दिन उनी दिनको तीनपटक दारुपसल पुग्ने गर्थे । तर केरल सरकारले बुधवारदेखि रक्सीको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
सरकारको निर्णयबाट सनोज दुई दिनदेखि छटपटिइरहेका थिए । उनी निकै तनावमा देखिन्थे । शुक्रवार बिहान डोरीमा झुण्डिएको अवस्थामा उनको शव बरामद गरियो । प्रहरीले यसलाई आत्महत्याको घटनाका रूपमा लिएको छ ।
रक्सी नपाएर हताश भएको सनोजले डोरीमा झुण्डिएको भनी नातेदार र साथीभाइले बयान समेत दिएका छन् ।