
नेपालमा कोराना भाइरस संक्रमितको संख्या ४ पुग्दा काठमाडौँ उपत्यका बाहिर पनि संक्रमण रहेको पुष्टि भएको खबर बाहिरिएपछि चर्चा बढेको छ।
सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ एक पुरुषको स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो। धनगढीमा दुबईबाट आएका ३४ वर्षका उनी गत चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी कैलालीका हुन्।
सेती प्रादेशिक अस्पतालका अनुसार उक्त अस्पतालको आइसोलेसन वार्डमा १९ जनाको उपचार भएको छ। जसमध्ये ११ जना अझै उपचारार्थ छन्। ती १९ जनाको थ्रोट श्वाब नमूना जाँच गर्न राष्ट्रिय प्रयोगशाला काठमाडौँ पठाइएकोमा १ जनाको पोजेटिभ रिपोर्ट आएको हो। ८ जनाको रिपोर्ट नेगेटिभ आउँदा १० जनाको रिपोर्ट आउन बाँकी छ।
