
नेपाली कांग्रेस संसदीय दलले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री पीपीईको व्यवस्था गर्न माग गरेको छ।
संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले शुक्रबार सरकारलाई ज्ञापन पत्रमार्फत आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न माग गरेका हुन्।
कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक रहेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।
आम नागरिकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाणले कोरोना महामारी फैलन नदिन लागु गरिएको लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मीलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बताए।