
सरकारले देशका विभिन्न स्थानमा रहेका विदेशी नागरिकको तथ्याङ्क सङ्कलन गरी जानकारी दिन स्थानीय तहलाई निर्देशन दिएको छ ।
नेपालमा रहेका विदेशी नागरिकको तथ्याङ्क लिएर परराष्ट्र मन्त्रालय मार्फत दूतावाससँग समन्वय गरी उनीहरूलाई आफ्नै देश फर्काइने छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । लकडाउनका कारण विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकलाई हवाई उद्धार गरी फिर्ता पठाउने कार्यको थालनी गरिसकेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा समन्वय समितिका सदस्य सचिव नारायण बिडारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पताललाई कोरोना भाइरस उपचारको 'डेडिकेटेट’ अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकले स्वदेश फर्कन चाहने विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक परेमा सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै आपूर्ति व्यवस्था कडाइका साथ सहज बनाउने, क्वारेन्टाइन पालना सम्बन्धी कार्यविधि अनुसार कार्यान्वयनमा लैजान स्थानीय तहलाई निर्देशन दिने लगायत निर्णय बैठकले गरेको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।