१४ असार २०८३, आइतबार

गाउँघरमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’

चैत १५, २०७६
गाउँघरमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’
फाइल फोटो

कोभिड–१९ को संक्रमण हुने त्रासले स्थानीयले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा संक्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयले ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’ भनेर प्लेकार्ड टाँगेका छन् ।

सैनामैना नगरपालिका–४ स्थित नयाँ बस्ती, हरियाली बस्ती तथा वडा नम्बर ५ स्थित शान्ति टोल, रामबस्ती टोल लगायत क्षेत्रमा बाँसका घारा तथा मुढा तेर्साएर आवतजावत गर्न रोक लगाइएको छ ।

शान्ति टोलका नारायण भुसालले संक्रमण हुने सम्भावना बढी भएकाले यस्तो कदम चाल्न परेको उल्लेख गर्दै अत्यावश्यक एम्बुलेन्स र दूधको गाडीका लागि बाटो सहज बनाइएको बताए ।

सैनामैना नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बाटामा रोक लगाउने नीति नभएपनि केही व्यक्ति गैरजिम्मेवार रुपमा घुमफिर गरेकाले स्वतस्फूर्त रुपमा स्थानीयले बाटामा आवतजावत गर्न रोक लगाएको हुन सक्ने बताए ।

गाउँपालिकामा साबुन र मास्क 

रुपन्देहीको मधेसी र थारु समुदायको बाहुल्य रहेको गाउँपालिकामा स्थानीय तहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयवासीलाई साबुन, मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।

समुदायका व्यक्तिलाई सचेत गराउन प्रचारप्रसारको काम हुनाका साथै साबुन, मास्क र स्यानिटाइजर वितरण भइरहेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर ३ स्थित रमुवापुरमा रहेको यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसलाई अस्थायी क्वारेन्टाइन बनाएको छ । पालैपालो रहने गरी तीन चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

गैडहवा गाउँपालिकाका पनि साबुन र मास्क वितरण गरिएको छ । विभिन्न वडाका वडाध्यक्षमार्फत साबुन र मास्क वितरण भएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । त्यहाँ १५ शय्याको क्वारेन्टाइनमा केही स्वास्थ्यकर्मी रहने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्