अहिले भारतमा बन्दाबन्दीको बेलामा रामायण र महाभारत धारावाहिकहरू दूरदर्शनमा प्रसारण गरिँदैछन् ।
यससँगै महाभारतमा कृष्ण बन्ने नीतीश भारद्वाजको पनि चर्चा हुन थालेको छ ।
उक्त धारावाहिकको शूटिङ गरेको ३० वर्षपछि भारद्वाजले आफूलाई उक्त महत्त्वपूर्ण भूमिका खेल्न आत्मविश्वास नभएकाले निर्देशक बीआर चोपडालाई हप्तौंसम्म छल्दै हिँडेको खुलासा गरेका छन् ।
कृष्णको भूमिका दिइनुअघि नीतीशलाई विदुरको भूमिका दिइएको थियो । तर वीरेन्द्र राजदानले उक्त रोल लिए ।
यसका बारेमा नीतीशले बताए, ‘मलाई शुरूमा विदुरको भूमिका दिइएको थियो । त्यसपछि मलाई सेठ स्टुडियोमा शूटिङका लागि बोलाइयो । म मेकअप रूममा हुँदा वीरेन्द्र राजदान वस्त्र लगाएर आए अनि विदुरको रोल आफूले लिएको बताए । मैले भनें, ‘तिमी कसरी विदुर हुन सक्छौ ? त्यो भूमिकामा शूट गर्न त उनीहरूले मलाई बोलाएका हुन् ।’ तर राजदानले मैले त वस्त्र लगाइसकें अब शट लिन जान्छु भने ।’
‘अनि म रवि चोपडालाई भेट्न गएँ । हामीले पहिले नै दुईवटा विज्ञापनको शूटिङ गरिसकेका थियौं र एकअर्कालाई राम्ररी चिन्थ्यौं । उनले मलाई भने, ‘तिमी जम्मा २३ वर्षका छौ । केही एपिसोडपछि विदुर बूढा हुनेछन् । तिमीलाई त्यो भूमिका सुहाउँदैन ।’ त्यसपछि म महाभारतमा बेरोजगार भएँ ।’
त्यसपछि नीतीशलाई नकुल र सहदेवको भूमिका दिइयो तर उनले अभिमन्युको भूमिका खेल्न मन गरे ।
निकै दिन बितेपछि उनलाई कृष्णको भूमिका दिइयो । शुरूमा त उनले त्यस्तो गहन भूमिका आफूले गर्न सकुँला र भनी टार्न खोजे ।
पछि एक दिन उनी बीआर चोपडासँग ठोक्किन पुगे । चोपडाले भने, ‘कृष्णका लागि स्क्रीन टेस्ट लिन खोजिरहेको छु, तिमी चाहिँ भाग्दै हिँड्छौ ।’
अनि मैले उनलाई भनें, ‘महानायक कृष्णको भूमिकामा त अलि अनुभवी मान्छे चाहिएला नि, म जस्तो नयाँ कलाकारले कसरी सक्छ ?’
त्यसपछि बीआर चोपडाले भने, ‘एकचोटि स्क्रीन टेस्ट त दिइहेर ।’
स्क्रीन टेस्ट पास गरेपछि नीतीशले कृष्णको भूमिका खेले अनि त्यसले उनलाई चौतर्फी प्रशंसा दिलायो ।