
कोभिड १९ को महामारीका बीच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने सम्पूर्ण धार्मिक सभाहरू निलम्बित भएका छन् । राजधानी अबुधावीस्थित हिन्दू मन्दिरमा भने गत शुक्रवार साँझ एउटा ‘सत्संग सभा’को आयोजना गरियो ।
युएईबाट प्रकाशित हुने खालीज टाइम्सले उक्त ‘सत्संग सभा’ अनलाइन गरिएको जनाएको छ । संसारभरका नागरिकहरूलाई शान्त राख्नका लागि अनलाइनमै भएपनि सत्संग सभा राखिएको उक्त मिडिया रिपोर्टमा जनाइएको छ ।
‘विश्वमा फैलिएरहेको कोरोनाभाइरसको महामारीलाई मध्यनजर राख्दै भाइरस रोक्ने प्रयासलाई सहायता गर्न हामीले अनलाइन सत्संग गर्ने निर्णय लिएका हौँ,’ स्वामीनारायण मन्दिरका एक पण्डितको भनाइ उदृत गर्दै समाचार रिपोर्टमा उल्लेख गरिएको छ, ‘हामीले नोटिसमार्फत सबै हिन्दू मन्दिरहरूमा प्रत्यक्ष उपस्थित भएर गरिने सबै सभाहरू निलम्बित गरिदिएका छौं ।’
तर भक्तजनहरू भने प्रत्येक शुक्रवार अनलाइन सत्संगमा सामेल हुन सक्नेछन् ।
त्यस्तै थोमस इन्डियन चर्चका पास्टरहरूले भने भित्र बसेर प्रार्थना गर्ने गरेको बताएका छन् । ‘चर्चको ढोका बन्द गरिएको छ तर पनि हामीले भित्र बसेर महामारीबाट जुध्न सहयोग होस् भनेर प्राथना गरिरहेका छौं,’ चर्चका अध्यक्ष रेव फ्रान निनान फिलिपले बताए ।
दुबईस्थित सेन्ट मेरी क्याथोलिक चर्चले भने प्रत्येक दिन प्रार्थना स्थानलाई लाइभ गरिरहेको छ । प्रार्थनामा कोरोना भाइरसको महामारी रोक्न अपनाउनुपर्ने जानकारीमूलक सन्देशहरू प्रवाहित भइरहेका हुन्छन् ।