
काठमाडौं, ८ वैशाख — साउदी अरबमा हिजोआज अनेकथरीका आर्थिक सुधारका प्रक्रियाहरू चलिरहेका छन् । यस्ता प्रक्रिया अन्तर्गत शपिङ मलमा विदेशीहरूलाई जागिर दिनमा प्रतिबन्ध लगाइएको छ ।

आफ्नै देशका नागरिकलाई रोजगारीको मौका दिलाउनका लागि यो कदम चालेको साउदी अरब सरकारको भनाइ छ ।
यो फैसलाका कारण करीब ३५ हजार रोजगारीको अवसर उत्पन्न हुने बताइएको छ । विदेशीसँग सम्झौता गरेका कम्पनीहरूका लागि नयाँ नियम पालनाका सम्बन्धमा पर्याप्त समय दिइने श्रम मन्त्रालयले बताएको छ ।
श्रममन्त्री खालिद अबा अल खलीलीले अरेबिया न्युजसँग कुरा गर्दै यो जानकारी दिएका हुन् ।
साउदी अरबको प्रेस एजेन्सीको वेबसाइटमा जारी बयान अनुसार बजारको स्थितिलाई मूल्यांकन गर्दै नयाँ आदेश कहिले र कसरी कार्यान्वयन गर्ने बताइनेछ ।
सुल्तान राजकुमार मोहम्मद बिन सलमानले साउदी नागरिकका लागि रोजगारीको अवसर दिँदा देशको अर्थव्यवस्था तेल र आयातित श्रममाथिको निर्भरतालाई अन्त्य गर्न ठूलो कदम भन्दै टिप्पणी गरेका छन् ।
प्राथमिकताहरू बदलिँदै जाँदा सरकारले धेरै चुनौती खेपिरहनुपरेको छ । त्यसैले सरकारले रोजगारीमा कटौती गर्नुपर्ने भएको हो ।
यो निर्णय कार्यान्वयन भएमा नेपाली श्रमिकहरूलाई पनि असर पर्ने सम्भावना छ । साउदीमा नेपाली कामदारको संख्या ठूलै छ ।
एजेन्सी