
कोभिड–१९ फैलिनबाट रोक्नका लागि संसारभरि कडा उपाय अपनाइएको भए पनि थुक आक्रमणको समस्या बढ्दै गएको छ ।
अस्ट्रेलियादेखि अमेरिकासम्म थुक आक्रमणका केसहरूको उजुरी आइरहेको छ । सबभन्दा बढी शिकार प्रहरी अधिकारीहरू बनिरहेका छन् । संक्रमण रोक्नका लागि लगाइएका लकडाउन पालन गराउन प्रहरी नै अग्रपंक्तिमा रहने गरेका छन् ।
बेलायतमा अघिल्लो साता १४ वर्षीय एक किशोरले जानजान थुकेको र मानिसतर्फ फर्केर खोकेकोमा अभियोग लगाइएको छ । उनी यही हप्ता अदालतमा उपस्थित गराइनेछन् ।
उत्तरपूर्वी इंग्ल्यान्डको कार्लाइलमा ३५ वर्षीय एक व्यक्तिले तीनजना प्रहरी अधिकारीलाई थुकेको आरोप छ । उनलाई प्रहरीले होस्टलमा बस्न भनेपछि उनले थुकेको बताइएको छ ।
क्यालिफोर्नियामा एकजना महिलाले एक किशोरलाई सामाजिक दूरी कायम राख्न भन्दा उसले आफूतिर फर्केर खोकेको महिलाले दाबी गरिन् । किशोरले आफूलाई धक्का दिएको अनि एकजना मान्छेलाई ल्याएको र त्यो मान्छेले आफूलाई थुकेको उनले बताइन् ।
यस्तै किसिमका आक्रमण अस्ट्रेलियामा पनि गरिएको र जातिघृणा झल्किने हिसाबमा गरिएको बताइएको छ । आक्रमणकारीहरूलाई पक्राउ गरिएको छ र मुद्दा लगाइउको छ ।
भारतको दिल्लीमा ४० वर्षीय एक मानिसले एक महिलामाथि थुकेर उनलाई कोरोनाभाइरस भनेको आरोपमा पक्राउ गरिएको छ । मणिपुरकी ती महिलाले दुर्व्यवहार सहेकी थिइन् र उनीमाथि जातिवादी आक्रमण गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बताए ।