३२ असार २०८३, बिहीबार

सचेतनाका लागि जनप्रतिनिधि गाउँगाउँमा

चैत १९, २०७६
सचेतनाका लागि जनप्रतिनिधि गाउँगाउँमा

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) अहिले गाउँगाउँमा पुगेर सचेतना जगाउन सक्रिय छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो गाउँपालिकावासीलाई सचेत बनाउन अध्यक्ष गुप्ताले सचेतना अभियान नै थालेका छन् ।

स्वास्थ्यभन्दा ठूलो केही नभएकोले लकडाउनको पालना गर्न र कोरोनाको जोखिमबाट बच्ने उपायको बारेमा पालिकावासीलाई सचेतना जगाउन आफू लागिपरेको अध्यक्ष गुप्ताले राससलाई बताए । 'हाम्रो गाउँपालिकामा छ वडा र ४२ गाउँ छन्, सकेसम्म सबै गाउँमा पुगेर नागरिकलाई सचेत गराइरहेको छु', उनले भने।

“कोरोनाको जोखिमबाट बच्न घरभित्रै सुरक्षित बस्नु उत्तम उपाय हो', पाल्हीनन्दन–१ शङ्कपुरमा स्थानीयवासीलाई सचेत गराउँदै उनले भन्नुभयो, 'बेलाबेलामा साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, गाउँमा एकै ठाउँमा भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने गर्नुहोस्, अहिले आफ्नो ज्यान जोगाउनु नै ठूलो कुरा हो ।'

उनले भारत तथा अन्य देशबाट रोजगारी फर्किएका व्यक्तिका बारेमा सूचना दिन पनि गाउँगाउँका नागरिकलाई अनुरोध गरेका छन् । 'अहिले विदेशबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेकाले गाउँमा आउने व्यक्तिलाई निगरानीमा राख्ने, उनीहरुमा रुघाखोकी तथा ज्वरोको लक्षण देखिएमा गाउँपालिका, प्रहरी, प्रशासन वा नजिकको स्वास्थ्य संस्थामा खबर गरिदिनुहोला', उनले स्थानियवासीलाई सम्झाउँदै भने।

गाउँपालिकाले पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित सुविधासम्पन्न भवनमा १० श्ययाको क्वारेन्टाइन निमार्ण गरेको छ । नयाँ भवनमा सबै कोठाहरु खाली नै रहेकाले आवश्यक परेमा श्यया थप गर्दै जान सकिने उनले बताए । गाउँपालिकाले सीमाक्षेत्र महेशपुरमा फागुनदेखि नै हेल्थ डेस्क पनि सञ्चालन गर्दै आएको छ ।

गाउँगाउँमा पुगेर सचेतना फैलाउने क्रममा लकडाउनका कारण दैनिक गुजारा चलाउन हम्मे परेका व्यक्तिलाई पनि अध्यक्ष गुप्ताले भेटेर राहतको व्यवस्था गर्न लागिएको बताएका थिए । दैनिक जीवनयापनमा कठिनाइ भए आफ्नो वडाका जनप्रतिनिधि वा वडा कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गर्नुभएको छ । वडाबाट सबैको तथ्याङ्क आएपछि गाउँपालिकाले राहतको व्यवस्था गर्ने अध्यक्ष गुप्ताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्